प्रथम पटक मधेशी मूलका बालेन्द्र साह (बालेन) नेपालको प्रधानमन्त्री बनेका छन् । उनले शुक्रबार दिउँसो हिन्दू परम्परा अनुसार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री बालेनसंगै मन्त्रिमण्डलका सदस्यहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काठमाडुस्थित शुक्रबार शीतल निवासमा आयोजित विशेष शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले साह र उनको मन्त्रीमण्डलका सदस्यहरुलाई शपथ ग्रहण गरेका छन् । रास्वपाका धेरै नेताको दाबी रहेको गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङले पाएका छन् । जेन–जी आन्दोलनका बेला चर्चामा आएका गुरुङ गोरखा–१ बाट निर्वाचित भएका थिए ।
त्यस्तै रास्वपाका उपसभापतिसमेत रहेका अर्थ मामिलाका जानकार स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् । उनी तनहुँबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । त्यस्तै शिशिर खनाल परराष्ट्रमन्त्री बनेका छन् । उनी स्वपाको परराष्ट्र विभाग प्रमुख हुन् । खडकराज पौडेल -गणेश) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने बनेका छन्।
साहित्यकार समेत रहेका उनी कास्कीबाट निर्वाचित भएका थिए । त्यस्तै, श्रममन्त्री महोत्तरीका दीपक कुमार साह बन्ने भएका छन् । शिक्षा तथा प्रविधि मन्त्री भने काठमाण्डु–५ बाट निर्वाचित सस्मित पोखरेलले जिम्मेवारी पाएका छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी बिक्रम तिमिल्सिनाले पाएका छन् ।
प्रतिभा रावल सामान्य प्रशासन मन्त्री भएकी छिन् । उनी पत्रकारिता पृष्ठभूमिकी हुन् । उनलाई रास्वपाले समानुपातिकबाट सांसद बनाएको थियो । रावल रास्वपाकी सहप्रवक्ता समेत हुन् ।
ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाएका छन् । काठमाण्डुबाट निर्वाचित भएका उनी यसअघि रास्वपा संसदीय दलको नेतासमेत थिए ।
कृषि तथा सहकारी र वन मन्त्रालयको जिम्मेवारी भने गीता चौधरीले पाएकी छन् । उनी रास्वपाको सामानुपातिक सूचीमा निर्वाचित भएकी उनलाई मन्त्रालय बाँडफाँटमा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको हो । अधिवक्तासमेत रहेकी उनी गत फागुनको निर्वाचनभन्दा केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेकी थिइन् ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भने सोविता गौतमले पाएकी छन् । उनी कानुनको जानकार तथा अधिवक्तासमेत हुन् ।
सीता बादी महिला तथा बालबालिकामन्त्री भएकी छन् । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री सुनील लम्साल बनेका छन् ।
बालेनको नेतृत्वमा गठित १५ सदस्यीय मध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह छन् । उनी प्रधानमन्त्री बालेनका नातेदार हुन् । एक दशकअघि विद्यार्थीलाई ठगेको आरोपमा पक्राउ परेका थिए ।
२०७३ असोजमा काठमाण्डु युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेजमा भर्ना गराइदिने झुटो आश्वासनमा ठगेपछि प्रहरीले पक्राउ गरेको थियो । वल्र्डवाइड कन्सल्टेन्सीको सञ्चालक रहेका मन्त्री दीपक साहलाई पक्राउ गरेको थियो । उनले आफ्ना सहयोगी गणेश अधिकारीमार्फत विद्यार्थीहरूलाई प्रलोभनमा पारी ठग्दै आएको तथ्य खुलेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । साहले आफूलाई मेडिकल डाक्टर भन्दै झुटो पहिचानसमेत प्रस्तुत गर्दै आएको तथ्य प्रहरीले त्यतिबेलै पाएको थियो ।


