२०८२ चैत्र १५, आईतवार २०:००
नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिआइबीले उनलाई आइतबार बिहान पक्राउ गरेको थियो । पूर्व ऊर्जामन्त्री रहेका खड्काको घरमा भदौ २४ गते जेनजी आन्दोलनकाक्रमा आगजनी हुँदा अवैध पैसा भेटिएको थियो । खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको जग्गा र भवन कब्जा गरेको अभियोग छ ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा ऊर्जामन्त्री रहेका खड्कामाथि सार्वजनिक सम्पत्ति हडपेको र पदको दुरुपयोग गरेको विषयमा लामो समयदेखि छानबिन भइरहेको थियो । यसअघि नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उक्त जग्गामा रहेका संरचना सिल गरेको थियो ।



