प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने दायित्व रहेकाले आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन् ।
मधेश प्रदेशसभाको आइतबार बसेको बैठकमा पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता यादवले सरकारलाई प्रतिशोधपूर्ण राजनीति नगरी विधि र कानुनअनुसार अघि बढ्न सुझाए । उनले मधेश प्रदेशलाई अन्य प्रदेशको तुलनामा कम प्राथमिकता दिइएको आरोप लगाउँदै जनमत अनुसार विकास र बजेट विनियोजन हुनुपर्ने भन्दै प्रदेश सरकारको आलोचना गरे ।
मधेश प्रदेश सभाको छैटौं अधिवेशन अन्तर्गत आइतबार बसेको १४औं बैठकमा प्रदेश सभा अधिकांश प्रदेशसभा सदस्यले संविधानले दिएको अधिकार अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउन दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सभा सदस्य जयनुल राईनले प्रदेश सरकारको कार्य सम्पादनप्रति प्रश्न उठाउँदै बहुवर्षीय योजनाहरू अझै अधुरै रहेको उल्लेख गरे । उनले सो योजनाहरूलाई शीघ्र सम्पन्न गरी जनतामा विश्वास जगाउन सरकार गम्भीर हुनुपर्ने बताए ।
जनमत पार्टी मधेश प्रदेशका प्रमुख सचेतक चन्दनकुमार सिंहले संघीयताको मर्मअनुसार प्रदेशको पहिचान र अधिकार सुनिश्चित गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताए ।
त्यस्तै सांसद जिवछी कुमारी यादवले सामाजिक विकृतिका रूपमा रहेको दाइजो प्रथालाई अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउँदै महिलामाथि हुने हिंसा नियन्त्रणमा प्रभावकारी नीति ल्याउनुपर्नेमा जोड दिइन् ।
प्रदेशसभा सदस्य ललिता दासले मधेशी दलित समुदायलाई राज्य संरचनामा समुचित प्रतिनिधित्व नदिइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै समावेशी शासनको प्रत्याभूति गराउन सरकारलाई आग्रह गरिन् ।


