२०८२ चैत्र १६, सोमबार ०७:१६

यही चैत १९ देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा -एसइई) का लागि मधेश प्रदेशमा व्यवस्थित र मर्यादित बनाइने भएको छ ।

जनकपुरधाममा आइतबार शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजना मधेश प्रदेशको आठ वटै जिल्लाका सरोकारवालाको सहभागितामा भएको बैठकमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि परीक्षा केन्द्रमा मोबाइल जफत गरी नष्ट गर्ने चेतावनीसहितको निर्देशन दिइन् । उनले परीक्षा केन्द्रमा मोवाइललगायतका अन्य उपकरण पूर्णरुपेण बन्देज ल्याइएको बताइन् ।

मन्त्री तिवारीले भनिन्, ‘मधेश प्रदेशको शैक्षिक अवस्था खस्किदो अवस्थामा रहेकाले यसप्रति आफू निकै गम्भीर रहेर मोबाइल जफत गरी नष्ट गर्ने निर्णयमा पुगेको छु ।’ उनले यदि कर्मचारीदेखि परीक्षार्थीसंग समेत मोबाइतललगायतका वस्तु फेला परेमा तत्कालै जफत गरी नष्ट गर्न सरोकारवाललाई निर्देशन दिएकी छन् । उनले स्पष्ट पार्दै भनिन्, ‘परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक अन्य कर्मचारी र परीक्षामा विद्यार्थीले मोबाइल लिएर आएमा तत्कालै जफत गरी नष्ट गरिने छ, यसका लागि केन्द्राध्यक्ष गम्भीर हुनुपर्छ ।’ परीक्षा केन्द्रमा पत्रकारलाई समेत निषेध गर्नुपर्ने उनको भनाइ छ । उनले रिपोर्टिंगको नाममा परीक्षा केन्द्रभित्र पत्रकार गएर हलको वातावरण बिग्रिने भएकाले पत्रकारहरुलाई पनि परीक्षा केन्द्रभन्दा बाहिरैबाट रिपोर्टिंग गर्नका लागि आग्रह गरिन् । उनले कुनै पनि किसिमको अनियमितता हुन नदिन कडा निगरानीको व्यवस्था गरिएको स्पष्ट पारिन् ।

बैठकबाट भएको विभिन्न निर्णय सार्वजनिक गर्दै शिक्षा तथा संस्कृति मन्त्रालयका उपसचिव उज्ज्वल पोख्रेलले परीक्षा केन्द्रमा खटिएका कर्मचारीले समेत मोबाइल परीक्षा हलभित्र लैजान नपाउने निर्णय भएको बताए । उनले भने, ‘मधेश प्रदेशमा एसइई परीक्षामा शान्तिपूर्ण, मर्यादित ढंगले सञ्चालन गर्ने, परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने व्यक्ति, कर्मचारीलाई कारबाही गर्ने, केन्द्रमा खटिएका केन्द्राध्यक्ष, कर्मचारीहरु पूर्ण जिम्मेवारी रहनुपर्ने, केन्द्राध्यक्ष बाहेकले कर्मचारीले समेत मोबाइल लैजान निषेध गरिएको छ, उनीहरुको साथबाट मोबाइल भेटिए तत्कालै जफत गर्ने, शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालयलयका तोकिएका कर्मचारीले अनगुमगन गर्ने, स्थानीय तहका शिक्षा अधिकृतले जिल्ला शिक्षा इकाइसंग समन्वय गर्ने र अनुमगन गर्न सक्ने व्यवस्था गरिएको छ ।’ उनले परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्षसहितका कर्मचारीहरुको बेतन विगतमा कम भएकाले परिमार्जन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने निर्णय भएको बताए ।

यस वर्ष मधेश प्रदेशबाट ८७ हजार ५ सय ९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने मधेश प्रदेश सरकारले जनाएको छ । शिक्षा तथा संस्कृति मन्त्रालयले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रदेशभरि २ सय ९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने केन्द्रहरूमा १ हजार ३ सय १६ विद्यालयका परीक्षार्थी सहभागी हुनेछन् ।

Comment


Related News