पूर्वप्रधानमन्त्री तथा नेकपा -एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीबारे जनता समाजवादी पार्टी (जसपा) नेपालले मौनता साधेको छ ।
एमालेको सचिवालय बैठकबाट अध्यक्ष ओलीको गिरफ्तारी विरुद्ध अन्य दलहरूसंग समन्वय गर्दै आन्दोलन अघि बढाउने प्रयत्न गरिरहँदा जसपा नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै एमालेको प्रयत्नमा साथ नदिने संकेत गरेको छ । जसपा नेपालको केन्द्रीय समन्वय समितिको बैठकपछि डा. सुरेन्द्र कुमार झाले जारी गरेको विज्ञप्तिमा नेताहरूको गिरफ्तारी र सरकारको कदमबारे कुनै विरोध जनाइएका छैनन् । जारी गरिएको विज्ञप्तिमा सरकारले पूर्वाग्रहबाट मुक्त भएर काम गर्नुपर्ने उल्लेख गरिएको छ ।
जसपाले बालेन्द्र साहको नेतृत्वमा बनेको सरकारले अनिश्चितता अन्त्य गर्ने विश्वास पनि व्यक्त गरेको छ । नेपाली जनताको संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै सरकारले विधिको शासन तथा कानूनी राज्यको प्रत्याभूति गराउने विश्वास व्यक्त गरेको छ ।


