समाचार लेखेको निहुँमा पत्रकारलाई गाली गलौज गर्दा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह विवादमा तानिएको छ ।
राजनीतिक मुद्दाभन्दा यतिखेर सामाजिक सञ्जालमा पत्रकारलाई गरेको गालीगलौज सहितको गरेको अभद्र व्यवहारका कारण अध्यक्ष साहको तीव्र आलोचना भइरहेको छ । रौतहटका पत्रकारहरूमाथि उनले गरेको गालीगलौज बाहिरिएको घटनाले सो क्षेत्रमा थप तरंग पैदा गरेको छ । पत्रकार संजय मिश्रले लेखेको एक समाचारलाई आधार बनाई अध्यक्षले सामाजिक सञ्जालमा गाली गलौजसहितका अभद्र व्यवहार गरेका छन् ।
पत्रकार मिश्रले आम जनता पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजनकुमार साहले पार्टी परित्याग गरेको विषय सार्वजनिक गरेका थिए । अध्यक्ष साह स्वयम् र कतिपय निकटस्थहरुले सञ्चालन गर्दै आएको भनिएका विभिन्न फेक आइडीमार्फत पत्रकारलाई विभिन्न विशेषण भिराउँदै अपमानजनक शब्द प्रयोग गर्दै साइबर आक्रमण गरिएको देखिन्छ ।
अध्यक्ष साहको यी क्रियाकलापलाई स्थानीय पत्रकार हरूले यसलाई योजनाबद्ध रूपमा गरिएको चरित्रहत्या प्रयासको रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जालमा संगठित रूपमा गालीगलौज हुनु सामान्य प्रतिक्रिया नभई सुनियोजित गतिविधि भएको उनीहरूको भनाइ छ । उक्त घटनाप्रति प्रेस चौतारी नेपाल रौतहटले गम्भीर आपत्ति जनाएको छ ।
सचिव मुकेश कुमार साहले विज्ञप्ति जारी गर्दै समाचारप्रति असहमति भए कानुनी बाटो अपनाउन सकिने तर पत्रकारमाथि गालीगलौज गर्नु कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । उनले व्यावसायिक पत्रकारितामाथि यस्तो व्यवहार असह्य रहेको उल्लेख गर्दै तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् ।
समाचारमा चित्त नबुझे अदालत तथा प्रेस काउन्सिलको ढोका खुला हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकारमाथि चरित्रहत्या गर्ने प्रयास हुनु प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप रहेको उनको भनाई छ । राजनीतिक नेतृत्वबाटै यस्तो गतिविधि हुनु लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाउने विषय बनेको उनको बुझाई छ ।



