२०८२ चैत्र १७, मंगलवार ०६:०६

ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा फुटपाथ, सडक पेटी र सार्वजनिक स्थाल अतिक्रमण गरेर घर टहरामा पसल सञ्चालन गर्दै आएका व्यवसायीलाई मधेश प्रदेश सरकारले हटाएको छ ।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा करिब दुई साता अघि देखि जनकपुरधामस्थित रामानन्द चोक, जानकी मन्दिर क्षेत्र, राम मन्दिर क्षेत्र, अस्पताल रोडलगायत गंगासागर पोखरी आसपासका अवैध संरचना डोजर लगाएर हटाइएको छ । मधेश प्रदेश सरकारले थालेको ‘अतिक्रमणविरुद्ध अभियान’को क्रममा सोमबार पनि गंगासागर पोखरी क्षेत्रबाट अवैध संरचना खाली गराइएको छ ।

गृह, सञ्चार तथा कानुनमन्त्री महतोको अगुवाइमा स्थानीय प्रशासन, जनकपुरधाम उपमहानगरपालिका र सुरक्षाकर्मीको संयुक्त टोलीले बजार क्षेत्रका सडक किनारामा बनाइएका अस्थायी टहरा, ठेला र अव्यवस्थित पसल हटाएको छ । स्थानीय व्यवसायीहरुललाई दिएको अल्टिमेटमको समयसीमा भित्र अतिक्रमण खाली नगरेपछि गृह, सञ्चार तथा कानुनमन्त्री महतोको अगुवाइमा अतिक्रमणमुक्त गराइएको छ । सो अभियानका क्रममा डोजरसमेत प्रयोग गरिएको थियो ।

जनकपुरधाम नगरको भीडभाड हुने क्षेत्रमा फुटपाथ अतिक्रमणका कारण पैदलयात्रीले लामो समयदेखि सास्ती भोग्दै आएका थिए । अभियानको अनुगमन गर्दै मन्त्री महतोले सार्वजनिक स्थललाई अतिक्रमणमुक्त बनाउने कार्य निरन्तर जारी रहने भन्दै जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिपरेको बताए । मन्त्री महतोले भने, ‘सडक र फुटपाथ सर्वसाधारणका लागि हुन् । व्यक्तिगत प्रयोजनका लागि होइनन् । नियम विपरीत संरचना राख्ने कार्य सह्य हुँदैन ।’ धार्मिक तथा ऐतिहासिक जनकपुरधामको सम्पदाको संरक्षणसंगै शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अभियानलाई थप विस्तार गरिने उनले बताए । अभियानका क्रममा केही व्यवसायीले वैकल्पिक व्यवस्था नगरी हटाइएको भन्दै असन्तुष्टि जनाए पनि धेरै स्थानीयवासीले भने पैदलमार्ग खुला भएपछि सहजता बढेको बताए । यसअघि आइतबार गंगासागर क्षेत्रमा चलाइएको डोजर अभियानपछि मधेश प्रदेश सरकारले आफ्नो ‘एक्सन’लाई निरन्तर रुपमा जारी नै राखेको छ ।

सोही क्रममा फुटपाथ व्यवस्थापनले शहरी अनुशासन कायम गर्ने प्रयास थालेको मन्त्री महतोको भनाइ छ । यसअघि तत्कालीन जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले गंगा सागर पोखरी क्षेत्रमा ‘हेरिटेज वाक साइट’को रुपमा विकास गर्ने भन्दै सो क्षेत्रलाई अतिक्रमणमुक्त गराइ सम्पदा पद मार्गको संरचना खडा गरिएको थियो । तर उनको कार्यकाल सम्पन्न भएपछि वर्तमान जनकपुरधामका मेयर मनोजकुमार साहले भने सो अभियानलाई निरन्तरता नदिँदा पुनः अतिक्रमणको चपेटमा परेको थियो ।

तर गृह, सञ्चार तथा कानुनमन्त्री महतोले मधेश प्रदेशको राजधानीसमेत रहेको धार्मिक नगरी जनकपुरधामको अतिव्यस्त रहेको सडक, सडकपेटी, फुटपाथलगायतका क्षेत्रको अतिक्रमणमुक्तका लागि अभियान नै सञ्चालन गरेका छन् ।

विगतमा पनि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष रामकुमार शर्माले पनि धार्मिक नगरी जनकपुरधामको सौन्दर्यकरणका लागि अतिक्रमणमुक्त अभियान सञ्चालन गरेका थिए । तर सो अभियानले मूर्तरुप पाए पनि पछि पुनः ती अतिक्रमणमुक्त गरिएका क्षेत्रहरुमा अहिले पुनः संरचना खडा गरिएको छ ।

त्यतिबेला धनुष सागर पोखरीको डिलमै निर्माण गरिएको गणेश युवा कमिटी, भुतही पोखरी क्षेत्रमा अनधिकृत रुपमा बनाइएका घरटहरालगायतका क्षेत्रहरु पनि अतिक्रमणमुक्त गराइएको थियो । तर अहिले सो क्षेत्रमा पुनः घरटहराहरु निर्माण गरिएको छ । आगामी दिनमा बजार व्यवस्थापन, पार्किङ नियन्त्रण र हरियाली प्रवद्र्धनलाई समेत जोड दिँदै दीर्घकालीन योजना अघि बढाउने मन्त्री महतोको योजना छ ।

जनकपुरधाम नगरभित्र सडक छेउछाउमा फुटपाथमा व्यवसाय गर्दै आएका व्यापारीहरु भने अन्योलमा परेका छन् । लामो समयदेखि जनकपुरधाम उपमहानगरपालिकालाई सडकपेटी वापतको रकम तिर्दै व्यवसाय गर्दै आएका थिए । तर अतिक्रमणमुक्त क्षेत्र अभियानको नाममा सडकपेटीमा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई भरणपोषणमा समस्या उत्पन्न भएको गुनासो गर्न थालेका छन् । उनीहरुले हामीलाई तत्कालै व्यवसाय गर्नका लागि वैकल्पिक स्थान दिन सरकारसंग माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News