२०८२ चैत्र १७, मंगलवार ११:१२

सरकारले श्रमिकहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै कार्यस्थलका लागि अधिकतम तापको स्तर मापदण्ड कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत भएको मापदण्डले विभिन्न प्रकृतिका कामहरूका लागि तापक्रमको अधिकतम सीमा तोकेको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले मापदण्ड पालना गर्न रोजगारदाता, श्रमिक र सरोकारवाला सबैलाई आग्रह गरेको छ । स्वीकृत मापदण्डअनुसार काम नभएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ ।

मापदण्डमा बसेर वा उभिएर गरिने मेसिन नियन्त्रण वा हातको हल्का कामको लागि अधिकतम तापक्रम ३२.२ डिग्री सेल्सियस तोकिएको छ । त्यस्तै, सामान सार्ने वा निरन्तर हात र पाखुराले गर्ने कामका लागि ३०.६ डिग्री तोकिएको छ ।

यस्तै खन्ने, भारी बोक्ने वा धकेल्नेजस्ता शारीरिक परिश्रम बढी हुने कामका लागि २८.९ डिग्री र तीव्र गतिमा गरिने धेरै कडा शारीरिक गतिविधिका लागि अधिकतम तापक्रम २६.९ डिग्री सेल्सियस मात्र हुनुपर्ने व्यवस्था गरिएको छ ।

यदि कार्यस्थलको तापक्रम तोकिएको सीमाभन्दा बढी भएमा रोजगारदाताले नियन्त्रणात्मक उपायहरू अपनाउनुपर्नेछ । जसमा व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग, कामदारहरूको रोटेसन अर्थात पालो गर्ने लगायतका व्यवस्था समावेश छन् ।

Comment


Related News