२०८२ चैत्र १८, बुधबार ०६:५४

जनकपुरधाम स्थित एक डान्स बारमा कार्यरत युवतीहरूले यौनकार्य गर्न अस्वीकार गर्दा सामूहिक कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न आरोपमा पक्राउ परेका बारका ती दुई कर्मचारीविरुद्ध मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी मुद्दा अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित मुख्य सडक छेउमा रहेको ‘ब्ल्याक एण्ड ह्वाइट डान्स बार क्लब’ मा चैतको पहिलो साता उक्त घटनाका पीडित चार जना युवतीले यौनजन्य कार्यमा आफूहरु संलग्न नहुँदा अमानवीय व्यवहार र कुटपिट गरिएको भनी प्रहरीमा उजुरी दिएकी थिइन । पीडित युवतीहरूको निवेदनका आधारमा बारका लेखापाल सञ्जयकुमार यादव र कर्मचारी काशिन्द्र महतोलाई पक्राउ र उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपोसारको अभियोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी गणेशबहादुर बमले जानकारी दिएका छन् । पीडितका अनुसार उनीहरू ‘वेट्रेस’को रूपमा काम गर्न भन्दै बारमा भर्ना भएका थिए । तर, केही समयदेखि व्यवस्थापन पक्षले ग्राहकसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिँदै आएको थियो ।

चैत ३ गते सोही विषयमा विवाद भएपछि युवतीहरूले यौनकार्य गर्न अस्वीकार गर्दै प्रतिकार गरेका थिए । त्यसलगत्तै उनीहरूलाई एउटा कोठामा थुनेर लात्ती, मुक्का र पाइपले सामूहिक रुपमै निर्घात कुटपिट गरिएको उजुरीमा भनिएको छ । एक पीडित युवतीले भनिन्, ‘हामी काम गरेर गुजारा चलाउन आएका थियौँ । तर, यहाँ हामीलाई जबरजस्ती यौन दासीजस्तो व्यवहार गरियो ।’ पीडितहरूले कुटपिटपछि आफूहरूलाई बाहिर निस्कन नदिइएको, मोबाइल फोनसमेत खोसिएको र मानसिक दबाबमा राखिएको बताएका छन् । साथै, काम गरेबापतको ज्याला र टिप्ससमेत नदिइएको उनीहरूको गुनासो गरेकी छिन् ।

यसैबीच पीडित युवतीहरूले आइतबार औपचारिक रूपमा मानव बेचबिखन तथा ओसारपोसारको जाहेरी दिएपछि धनुषा जिल्ला अदालतले पक्राउ परेकामाथि अनुसन्धानका लागि म्याद थप गरेको छ । प्रवक्ता बमका अनुसार हाल पीडितहरूलाई सुरक्षित स्थानमा राखेर उपचार तथा कानूनी परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीसमेत भइरहेको छ । नेपालको मानव बेचबिखन तथा ओसारपोसार -नियन्त्रण) ऐन, २०६४ अनुसार यस्तो अपराधमा संलग्न व्यक्तिलाई १० देखि २० वर्षसम्म कैद सजाय र ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

Comment


Related News

Latest News

Trending News