मालपोत कार्यालय, पर्साका तत्कालीन ४ जना मालपोत अधिकृतहरुसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको कसुरमा तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद राव कुर्मी र तत्कालीन नायव सुब्बा स्व किरण प्रसाद उपाध्यायका छोराहरु राजकिशोर, गौतम, पशुपति र मुरारीप्रसाद उपाध्यायसहित ८ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७०/७१ मा रजिष्ट्रेशन फाँट “ग” मा वर्षभरिको राजस्व आम्दानी नै नबाँधेको तथा उक्त रसिदहरूबाट प्राप्त रकम बैंङ्क दाखिलासमेत नगरी करोडौं रुपैयाँ राजस्व हिनामिना गरेको उजुरी परेको थियो ।
अनुसन्धानबाट आव २०७०/७१ मा उक्त फाँटमा एउटै रजिष्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखत पारित भएको र लिखत दर्ता किताबमा कम रकम भएका लिखत मात्र लेखा फाँटमा बुझाइएको देखिएको छ।
बढी रकम भएका लिखतहरू लेखा फाँटमा नबुझाइएको र आन्तरिक अन्तिम लेखापरीक्षण तथा दर्ता किताब प्रमाणित नगरी राजस्व हिनामिना भएको तथ्य फेला परेको आयोगले जनाएको छ ।
तत्कालीन पर्सा मालपोत कार्यालयको रजिष्ट्रेशन फाँट “ग” बाट २ करोड ९३ लाख ६८ हजार ५६५रुपैयाँ रकम राजस्व हिनामिना भएको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार एकै रजिष्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखतहरू पारित गरी कम थैली अंक भएका लिखतहरूको मात्र रकम बुझाउने र बढी रकम रहेका लिखतहरूको रकम नबुझाईरनदेखाई आ।ब। २०७०।७१ मा तत्कालीन मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट “ग” बाट उठेको रजिष्ट्रेशन दस्तुरवापतको रकम २ कराेड ९३ लाख ६८हजार ५६५राजस्व हिनामिना भएको देखिएको छ ।
उक्त कसुरजन्य कार्यमा संलग्न मिश्र ३८ लाख ८० हजार ३६८, बोगटीसँग १ करोड १० लाख ६० हजार५२४, अर्यालसँग २१ लाख ३८ हजार १६९, कुर्मीसँग ९९ लाख १० हजार ५१५ रुपैयाँमा बिगो मागदाबी गरिएको छ ।
त्यस्तै तत्कालीन नासु उपाध्यायकाे मृत्यु भइसकेकाले उनको छोराहरुसँग २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको उनले बताए ।



