श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता खारेज गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अध्यक्ष राईले देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी परियोजना खारेज गर्नुपर्ने तर्क गर्नुभयाे ।
राईले कुनै पनि असमान र राष्ट्रघाती व्यापारिक सन्धि स्वीकार्य नहुने बताउनुभयो । उहाँले एमसीसी सम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष राईले सीमावर्ती क्षेत्रमा छिमेकी देशहरूको गतिविधि बढ्दै गएको उल्लेख गर्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयाे । उहाँले संयुक्त राष्ट्रसङ्घमार्फत नेपालको सीमा यकिन गर्ने तथा र त्यसको सुरक्षाका लागि नेपाली सेनालाई प्रभावकारी रूपमा परिचालन गर्न पनि माग गर्नुभयो ।



