रौतहटको सदरमुकाम गौरस्थित मालपोत कार्यालय वरपर सक्रिय बिचौलियामाथि प्रहरीले कडाइ थालेको छ। सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्दै रकम असुल्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
जग्गा पास, किनबेचलगायतका काम छिटो गराइदिने बहानामा सर्वसाधारणलाई प्रलोभनमा पारेर अनुचित लाभ लिँदै आएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा यमुनामाई गाउँपालिका–२ का २८ वर्षीय सिकित नारायण, राजदेवी नगरपालिका–७ का २४ वर्षीय बब्लु प्रसाद यादव, सोही स्थानका ३० वर्षीय श्याम बिहारी यादव, परोहा नगरपालिका–७ का ३९ वर्षीय रामनरेश प्रसाद पटेल तथा गौर नगरपालिका–८ का करिब ६० वर्षीय राजेन्द्र राउत बरै रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर जीवन मैनालीका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे जिल्ला अदालत र मालपोत कार्यालय आसपास क्षेत्रमा सेवाग्राहीलाई हैरानी दिने, कागजात बोकेर विभिन्न फाँटमा दौडधूप गर्ने र त्यसबापत रकम असुल्ने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
लामो समयदेखि मालपोत कार्यालय क्षेत्रमै सक्रिय बिचौलियाका कारण सर्वसाधारण पीडित बन्दै आएको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएर कारबाही थालेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
यस कारबाहीपछि मालपोत क्षेत्रमा देखिएको बिचौलिया समस्या नियन्त्रणतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि यस्तो कदमले सेवाग्राहीलाई राहत मिल्ने विश्वास व्यक्त गर्दै यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन्।



