सर्लाहीमा भन्सार छलीका सामग्रीहरु लोड भएको अटो रिक्सा सहित एकजना महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समयमा ठूलो संख्यामा तस्करी मौलाएपछि नयाँ सरकार आएसंगै सशस्त्र प्रहरी चनाखो हुँदै कारबाहीमा उत्रिदा लाखौं मूल्य बराबरका अवैध सामग्रीसहित अटोसहित चश्मावाली भनिने एकजना महिला तस्करलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीका अनुसार भारतबाट अवैध रूपमा ल्याइँदै गरेको किराना सामान बरामद गरिएको छ । विशेष सूचनाको आधारमा चन्द्रनगर गाउँपालिका–४ स्थित पोखरिया क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले सवारी चेकजाँचका क्रममा ज १ ह ४४५१ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा भन्सार छलीका सामग्रीहरु सहित उनलाई पक्राउ गरिएको बताइएको छ ।
अटोबाट मरिच ३४ किलो, मैदा ७ बोरा, पाउडर दूध ४५ किलो, पेडा १३५ डिब्बा र चकलेट ३० डिब्बा बरामद गरिएको छ । अटोमा सवार सर्लाही इश्वरपुर नगरपालिका–६ स्थित बयलवासका करिब ३० वर्षीय बवी महतो (उपनाम ‘चश्मावाली’) लाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।
नियन्त्रणमा लिएका अटो र सामान आवश्यक कारबाहीका लागि मलंगवा भन्सार कार्यालय बुझाइएको छ । भन्सार कार्यालयका अनुसार अटोको मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ र सामग्रीहरुको मूल्य १ लाख २७ हजार १२५ गरी ४ लाख ७७ हजार १२५ रुपैयाँ बराबरको सामग्रीहरुसमेत दाखिला गरिएको छ ।
केही साता अघि महिला तस्कर चश्मावाली र सशस्त्र प्रहरीको असई घुमुवा सुरेश महतोबीच अडियो रेकर्ड सार्वजनिक गरिएको थियो । तैपनि उनलाई कारबाही नगरेर जिल्लाको मुख्य घुमुवामा राखेर गणबाट नै अबैध रकम उठाउनमा व्यस्त गराइएको थियो ।


