पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा समायोजन नगरिएको भन्दै यातायात व्यवसायीले सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढाउन चेतावनी दिँदै यातायात सेवा नै ठप्प पार्ने जनाएको छ । आयल निगमले छोटो अन्तरालमै तीन पटकसम्म डिजेल र पेट्रोलको मूल्य बढाएर पनि सवारी साधनको भाडा नबढेकोले तत्काल नै भाडा वृद्धि गर्न माग गरेको छ । महासंघले अब पनि सरकारले भाडा नबढाए देशभरका यातायात सेवा ठप्प पार्ने वा आफैँ भाडादर घोषणा गर्ने निर्णय गरेको छ ।
हवाई इन्धनको मूल्य बढ्ने बित्तिकै हवाई भाडा तत्काल समायोजन भए पनि लाखौँ सर्वसाधारण जोडिएको सार्वजनिक यातायातको हकमा सरकारले बेवास्ता गरेको भन्दै आफैँ भाडा वृद्धि गर्ने घोषणा गरेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन विधि अनुसार गर्न माग गरिएको छ । यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत र मालवाहक सवारीमा तराई तथा पहाडमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा बढाउन सिफारिस गरिसक्दा पनि मन्त्रालयले फाइल थन्काएर राखिएको छ ।
‘२०७२ सालदेखि १३ वटा मुख्य सूचकहरुका आधारमा भाडा समायोजन नभएको र अहिले दैनिक लाखौँ रुपैयाँ घाटा सहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ,’विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘पटक–पटकको अनुरोधलाई सरकारले कमजोरी ठानेको भन्दै महासंघले अब घाटामा सेवा दिन सकिदैन । सरकारले तत्काल निर्णय नलिए वैज्ञानिक विधिलाई नै आधार बनाएर व्यवसायीहरूले स्वतःस्फूर्त रुपमा भाडा वृद्धि गर्ने चेतावनी दिएका छन् । भाडा समायोजन नगरिए यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं राज्य नै हुने भन्दै छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।


