माध्यमिक शिक्षा परीक्षा -एसइई) को उत्तर पुस्तिका परीक्षण कार्यलाई शिक्षा विकास तथा समन्वय एकाइ धनुषाले तीव्र रूपमा अगाडि बढाएको छ ।
जिल्लाका ४५ वटा केन्द्रमार्फत उत्तरपुस्तिका जाँच भइरहेको एकाइ प्रमुख चेतकुमार पोखरेलले जानकारी दिएका छन् । सरकारले यस वर्षदेखि एसइईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने निर्णय गरेसँगै परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षणको प्रक्रिया थालिएको हो । एकाइ प्रमुख पोखरेलले भने, ‘समयमै नतिजा प्रकाशन गर्ने लक्ष्य अनुसार सबै केन्द्रमा परीक्षण कार्य सुरु भइसकेको छ । जिल्लाभरका ४५ केन्द्रबाट सङ्कलित उत्तरपुस्तिका सुरक्षित रूपमा राखेर जाँच भइरहेको छ ।’ उत्तरपुस्तिका परीक्षण कार्यलाई व्यवस्थित र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यस कार्यमा माध्यमिक तहमा अध्यापन गराउँदै आएका अनुभवी एवं विषयगत करिब दुई सयभन्दा बढी शिक्षक खटिएका छन् । उत्तरपुस्तिका परीक्षण भइरहेका अधिकांश केन्द्रमा सीसीटीभी क्यामरा जडान गरिएको छ ।
केही केन्द्रमा क्यामरा जडान गर्न बाँकी रहेको र त्यसका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको एकाइ प्रमुख पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाभर शान्तपूर्वक परीक्षा सम्पन्न भएको छ र अबको लक्ष्य समयसीमाभित्रै उत्तरपुस्तिका परीक्षण कार्य सक्नु रहेको छ ।


