२०८२ चैत्र २१, शनिबार ०७:४२

अख्तियार दुरुपयोग अनुसन्धान आयोले धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक निरीक्षक (इन्सपेक्टर) घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी रहेको प्रहरीले जनाएको छ ।

आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनलाई ४० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको जनाइएको छ । आयोगका अनुसार निर्माणाधीन कमला–ढल्केवर– बाग्मती सडक आयोजनासँग सम्बन्धित ठेकेदारसँग विभिन्न बहानामा रकम असुली गर्ने गुनासो आएपछि विशेष निगरानी थालिएको थियो ।

आयोगका सूचनाअधिकारी प्रकाश पोखरेलका अनुसार ती निरीक्षकले निर्माण कार्यमा संलग्न सवारी साधनलाई अनावश्यक रूपमा अवरोध सिर्जना गर्दै रकम माग्ने गरेका थिए । ‘यो मिलेन, त्यो मिलेन’ भन्दै काममा ढिलाइ गराउने र त्यसकै बहानामा पैसा असुल्ने गरेको आरोप उनीमाथि रहेको उनको भनाई छ । विशेष निगरानीका क्रममा उनलाई घुस रकम लिँदै गर्दा रंगेहात पक्राउ गरिएको हो ।

हाल उनलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Comment


Related News