२०८२ चैत्र २२, आईतवार ०७:५६

रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियामा फलामे गेट ढलेर एक बालकको मृत्यु भएको घटनाको एक महिनापछि ट्र्याक्टर दुर्घटनासँग जोडेर षड्यन्त्र गरिएको आरोप लागेको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा रौतहट क्षेत्र नं। ४ का सांसद प्रत्याशी राजकुमार दास ले आफूलाई नियोजित रूपमा फसाउने प्रयास भएको दाबी गरेका छन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दासले करिब एक महिनाअघि भएको घटनामा आफ्नो नाम जोडेर गलत प्रचार गरिएकोप्रति आपत्ति जनाए। उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्‍याएका छन ।

गत फागुन १७ गते पूर्वमन्त्री तथा प्रदेश सांसद शेख अबुल कलाम आजाद (शेख फूलबाबु) को गढीमाई–३ स्थित कम्पाउन्डको फलामे गेट ढल्दा स्थानीय सबिया खातुनका करिब १० वर्षीय छोरा मोहम्मद अल्फाजको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि मृतकका परिवारले दासको डिजे बाजा लोड गरिएको ट्र्याक्टरले ब्याक गर्ने क्रममा गेटमा ठक्कर दिँदा दुर्घटना भएको आरोप लगाएका थिए। तर दासले उक्त आरोप अस्वीकार गर्दै गेट आफैँ ढलेको दाबी गरेका छन्।

उनका अनुसार घटनाका बेला बालबालिका गेटमा झुन्डिएर खेलिरहेका थिए र सोही क्रममा गेट एक्कासी ढल्दा बालक च्यापिएर मृत्यु भएको हो। “मेरो ट्र्याक्टर कम्पाउन्डभित्र पार्क गरिएको थियो, त्यसलाई आधार बनाएर मलाई फसाउने प्रयास भइरहेको छ,” उनले भनेका छन ।

दासले आफू राजनीतिक व्यक्तित्व भएकै कारण विपक्षीको उक्साहटमा पीडित परिवारलाई प्रयोग गरी षड्यन्त्र गरिएको आरोपसमेत लगाएका छन ।

यता इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्य ले प्रारम्भिक अनुसन्धानमा ट्र्याक्टरको संलग्नता नदेखिएको बताएका छन । सोही आधारमा जाहेरी दर्ता गर्न नमिल्ने भन्दै जाहेरी लिन अस्वीकार गरिएको उनले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजालले पनि प्रारम्भिक अनुसन्धानबाट ट्र्याक्टरले ठक्कर दिएको प्रमाण नभेटिएको बताएका छन्। उनका अनुसार बालबालिका गेटमा खेलिरहेका बेला गेट आफैँ ढल्दा दुर्घटना भएको देखिएको छ।

यद्यपि, दासले चुनावपछि केही नेताले पीडित पक्षलाई उक्साएर आफूविरुद्ध षड्यन्त्र रचिएको गुनासो गरेका छन्। उनले निष्पक्ष छानबिनको माग गर्दै दोषी ठहर भए आफू सजाय भोग्न तयार रहेको बताएका छन्।

Comment


Related News

Latest News

Trending News