गृहमन्त्री सुधन गुरुङले ३६ वर्षदेखि ‘हतकडी’ अपराधीलाई होइन, सुरक्षाकर्मीलाई लगाएर राखिएको टिप्पणी गरेका छन्।
आइतबार बिहानै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।’
शनिबार मात्र नेपाल प्रहरीले सेवा प्रवाहमा समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्नेहरूविरुद्ध ‘अपरेसन’ चलाउन परित्रप गरेको छ भने काठमाडौँ उपत्यकामा मात्रै त्यस्ता १५० जनालाई नियन्त्रणमा लिइसकेको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुन्डागर्दी गर्ने तथा यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अपरेसनमार्फत पक्राउ गर्न थालिएको हो।
यस अभियानअन्तर्गत पछिल्लो एक सातामा १८९ जना पक्राउ परेको जानकारी शनिबार भट्टराईले जानकारी दिएका छन्।
‘मुख्यगरी सार्वजनिक सेवा प्रवाहका नाममा दुःख, हैरानी दिने, सार्वजनिक स्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेसन चलाएका हौँ’, उनले भनेका छन्, ‘यो अभियान जारी छ।’
यस्तै काठमाडौँमा रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा निगरानी भइरहेको र त्यस क्रममा गुन्डागर्दीमा संलग्न १६ जनालाई पक्राउ गरिएको उनले बताए।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार बिचौलिया, विभिन्न नाममा नागरिकलाई दुःख दिने, दुर्व्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्नविरुद्ध कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र जारी गरिएको हो।



