२०८२ चैत्र २२, आईतवार १८:२८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन पदाधिकारी र कर्मचारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा २ थान बायो घुम्ती शौचालय खरिद गर्दा सरकारी रकम हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
परिषद्ले खरिद ऐन विपरीत प्रतिस्पर्धा बिना सोझै बायो घुम्ती शौचालय खरिद गरेको अख्तियारले जनाएको छ ।

भारतको टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसन्सबाट ३३ लाख ५० हजार ९४६ रूपैयाँमा खरिद गर्न सकिने शौचालयलाई, ईशिता ट्रेडर्ससँगको मिलेमतोमा अस्वाभाविक मूल्य वृद्धि गरी ५५ लाख २ हजार ८५४ रूपैयाँ पुर्‍याइएको अख्तियारको ठहर छ ।

मुद्दा दायर गरिएकामा परिषद्का तत्कालीन अध्यक्ष शालीग्राम सिंह, तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, तत्कालीन लेखापाल सावित्रीकुमारी गिरी, खरिदार मदनकुमार चौधरी सूडी र ईशिता ट्रेडर्सका प्रोप्राइटर पशुपति नाथ पाठक छन् ।

त्यस्तै ५० थान पोर्टेबल शौचालय खरिदमा झण्डै ५५ लाख रूपैयाँ अनियमितता गरेको अभियोगमा सिंहसहित ५ जनाविरुद्ध अर्को मुद्दा चलाइएको छ । सार्वजनिक खरिद ऐन र नियमावली विपरीत बदनीयतपूर्वक काम गरेको अख्तियारले जनाएको छ ।

बजारमा करिब ४२ लाख १६ हजार ५०० रूपैयाँमा उपलब्ध हुने सामानलाई अस्वाभाविक रूपमा वृद्धि गरी ५४ लाख ९९ हजार ९९९ रूपैयाँमा सोझै खरिद सम्झौता गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News