पतञ्जली जग्गा घोटाला काण्डका योजनाकार शालिग्राम सिंहविरुद्ध दुईवटा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध दुई फरक कसुरमा कुल एक करोड १० लाख बिगो कायम गरेर मुद्दा दायर गरेको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले आर्थिक वर्ष ०७६/७७ मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा रकम हिनामिना गरेको अख्तियारको दाबी छ । उक्त खरिद गर्दा सिंह परिषद्का अध्यक्ष थिए ।
ठेकेदारसंग मिलेमतो गरेर खरिदमा हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ । सिंह पतञ्जली जग्गा खरिद काण्डका योजनाकार हुन् । पतञ्जली योगपीठका लागि काभ्रेपलाञ्चोकमा हदबन्दीभन्दा बढी जग्गा खरिद, बिक्री र सट्टाभर्ना गरेर भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्धको मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।
पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले गत २२ जेठमा मुद्दा दायर गरेकामा सिंह पनि प्रतिवादी थिए । पतञ्जलीको योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल र कम्पनीको मुख्य भई कामकाज गर्ने सिंहलाई अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो र १० देखि १४ वर्षसम्म कैद सजायको माग गरेको छ ।
आइतबार अख्तियारले दायर गरेको पहिलो मुद्दामा सिंहविरुद्ध ५५ लाख दुई हजार ८५४ रुपैयाँ बिगो दाबी गरिएको छ । उक्त मुद्दामा परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, लेखापाल सावित्रीकुमारी गिरी, खरिदार मदनकुमार चौधरी सुडी र इसिता ट्रेडर्स र त्यसका प्रोप्राइटर पशुपतिनाथ पाठक प्रतिवादी छन् ।
३३ लाख ५० हजार ९८६ रुपैयाँ रकम कायम गरी आपूर्तिकर्ता भारतीय कम्पनी ‘टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसन’ संग खरिद प्रक्रिया अवलम्बन गरेको अवस्थामा इसिता ट्रेडससंग ५५ लाख दुई हजार ८५४ रुपैयाँमा सम्झौता गरिएको थियो । सार्वजनिक खरिद ऐनबमोजिम स्पेसिफिकेसन, लागत अनुमान र खरिद योजनासमेत तयार नगरी खरिद गरिएको छ ।
इसिता ट्रेडर्ससंग पूर्वसहमतिबमोजिम दररेट माग गरेकोमा भारतीय कम्पनी ‘टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसन’को झुट्टा र गलत अथोराइजेसन सर्टिफिकेटसमेत संलग्न गरी दररेट पेस गरेर बोलपत्र आह्वान नै नगरी इसिता ट्रेडर्ससंगै खरिद सम्झौता गरिएको थियो ।


