रौतहटको गौरस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मातहत रहेको सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरको नवनिर्मित भवन आइतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।
सशस्त्र प्रहरी छिनमस्ता बाहिनी मधेस प्रदेश प्रमुख डिआइजी कृष्ण ढकालले भवन उद्घाटन गर्दै सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताएका छन ।
उनले आफूले यस जिल्लामा काम गरेको अनुभव स्मरण गर्दै यहाँको भौगोलिक अवस्था र स्थानीयको भूमिकाबारे जानकार रहेको उल्लेख गरेका छन ।
डिआईजी ढकालका अनुसार सीमामा रहेका बोर्डर आउट पोस्ट (बीओपी) हरूमा पूर्वाधार अभाव रहेको विषयमा संगठन सचेत छ र विनियोजित बजेटअनुसार क्रमशः आफ्नै भवन निर्माण भइरहेको छ।
डिआइजी ढकालले निर्माण भएका भवनहरू जनताको करबाट बनेको स्मरण गराउँदै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए। “संगठनको मर्म विपरीत काम गर्नेलाई कारबाही गरिन्छ,” उनले चेतावनी दिएका छन ।
उनले सीमाक्षेत्रमा जीविकोपार्जनका लागि सानो परिमाणमा सामान ल्याउने गतिविधिलाई तस्करीसँग नजोड्न आग्रह गर्दै यस्ता क्रियाकलापलाई कानुनी दायरामा ल्याएर भन्सारमार्फत राजस्व तिराउनेतर्फ प्रोत्साहन गर्नुपर्ने बताएका छन ।
कार्यक्रममा रौतहटका सिडियो दिनेश सागर भुसालले सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीको योगदानको प्रशंसा गरे। उनले सीमामा कार्यरत सुरक्षाकर्मीहरू कठिन परिस्थितिमा काम गरिरहेको उल्लेख गर्दै उनीहरूको सुविधा र आवास सुधारमा राज्यले ध्यान दिनुपर्ने बताएका थिए ।
२ करोडभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको भवन निर्माणमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो। गौर नगरपालिका–१ का अध्यक्ष लालबाबु चौधरी तथा सुदर्शन आँखा अस्पताल गौरका प्रमुख डा। हरिश्चन्द्र झालाई कदरपत्रसहित सम्मान गरिएको थियो।
त्यसैगरी, डिआइजी ढकाललाई सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीले मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रमबारे जानकारी दिँदै गुल्मपति प्रेमसागर विष्टले विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको बताएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी मधेश प्रदेश महिला संघकी अध्यक्ष सङ्गीता सुवेदी, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, नेपाली सेनाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सो अवसरमा अतिथिहरूले गुल्म परिसरमा वृक्षारोपणसमेत गरेका थिए।
यसैबीच, डिआइजी ढकालले आइतबार नै ईशनाथको औरैया र राजदेवी नगरपालिकाको बेलविछवामा निर्माण गरिएको अन्य नवनिर्मित भवनहरूको पनि हिजो आइतबारनै उद्घाटन गरेका थिए ।

