सांसदहरुले संसदलाई बलियो बनाउदै जनअपेक्षा अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले नवनिर्वाचित सभामुखको नेतृत्वमा सदनले जनअपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्दै सवैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका हुन् र
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले सदन, सरकार र समग्र व्यवस्थालाई समन्नुत बनाउन सभामुखले भूमिका खेल्ने विश्वास गर्नुभयो ।
त्यस्तै रास्वपा सांसद मनिष झाले संसद चिया चौतरी मात्रै नभई गुरुकुल र विश्वविद्यालय हुनुपर्नेमा जोड दिँदै सांसदले जनताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सदनलाई लोकतन्त्रमा प्रतिपक्षको आवाज जति सशक्त र प्रभावकारी तथा रचनात्मक हुन सक्छ, त्यति नै लोकतन्त्र जीवन्त हुने उल्लेख गर्नुभयो । उहाले दलभन्दा पनि राष्ट्रियता ठूलो कुरा भएकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले झण्डै दुईतिहाइ मत प्राप्त गरेको दलको नेतृत्वमा गठित सरकारले विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्न सक्नुपर्ने बताउनुभयो ।
रास्वपा सांसद गणेश पराजुलीले जनताको आवाज सुन्ने र सम्बोधन गर्ने प्रयासमा सरकारले समेत विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । अन्य सांसदहरुले समेत जनताको आशालाई निराश नहुने गरि अघि बढ्नुपर्ने धारणा राखेका थिए ।


