२०८२ चैत्र २३, सोमबार १८:५५

परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न परिस्थिति र त्यसले नेपालको अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबारे जानकारी गराउनुभएको छ ।

संसद् भवन परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेकाले नेपाल आयल निगम गम्भीर सङ्कटमा परेको बताउनुभयो । पछिल्लो विश्लेषणअनुसार १५ दिनमै निगमलाई झन्डै १७ अर्ब रुपैयाँ घाटा हुने स्थिति देखिएको छ ।

नेपाल आयल निगमकाअनुसार अहिले एक लिटर डिजेलमा निगमलाई १२० रूपैयाँ घाटा छ । इन्धनको खपत घटाउन र आमनागरिकमा मूल्यवृद्धिको भार कम गर्न सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने र विद्यालयको शैक्षिक सत्र ढिलो शुरू गर्नेजस्ता निर्णयहरू गरिसकेको उहाँले जानकारी दिनुभयो ।

द्वन्द्वको असर इन्धनमा मात्र सीमित नभई मल आपूर्ति, उद्योगका कच्चा पदार्थ र रेमिट्यान्समा समेत पर्न सक्ने भन्दै सरकारले अध्ययन गरिरहेको छ । मन्त्री खनालले परराष्ट्र मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्रका कामहरू आफ्नै ढङ्गले अगाडि बढाएको र त्यसको नतिजा पनि देखिन थालेको दाबी गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News