२०८२ चैत्र २४, मंगलवार ०६:१४

सर्वोच्च अदालतले हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले हिजो यस्तो आदेश दिएको हो । अदालतले उनीहरूको पक्राउलाई गैरकानुनी भनेको छैन । तर विभिन्न कारण देखाउँदै थुना बाहिरै राखेर अनुसन्धान गर्न सरकारलाई आदेश दिएको हो । आदेशमा ओली र लेखक दुवैजना आफ्ना माता–पिताको निधनपछिको आशौच (जुठो) मा रहेको कुरालाई मानवीय आधारका रूपमा लिएको छ । यस्तो संवेदनशील अवस्थामा थुनामा राखिरहनु उचित नहुने अदालतको ठहर छ ।

यस्तै ओली गम्भीर बिरामी भई त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र विशेष मेडिकल टिमको प्रत्यक्ष निगरानीमा उपचाररत रहेको अस्पतालको पत्रलाई अदालतले रिहाइको प्रमुख आधार बनाएको छ । यसैगरी यस्तै घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका तत्कालीन काठमाण्डौका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छविलाल रिजाललाई यसअघि नै हाजिर जमानीमा छाडिसकिएको तथ्यलाई पनि अदालतले स्मरण गराएको छ ।

एउटै प्रकृतिको मुद्दामा अरुलाई छाडिएको अवस्थामा ओली र लेखकलाई मात्र थुनामा राख्नु न्यायोचित नहुने आदेशमा उल्लेख छ । यस्तै मिसिल अध्ययन गर्दा अभियुक्तहरूको बयान कार्य लगायत अनुसन्धानका मुख्य कार्यहरू सम्पन्न भइसकेको देखिएकोले बयान भइसकेको र प्रमाण नष्ट हुने अवस्था नरहेकाले उनीहरूलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिएको अदालतको राय छ ।

काठमाण्डौ जिल्ला अदालतले ओली र लेखकलाई पछिल्लो पटक थपेको ५ दिनको म्याद भोलि सकिंदैछ । सर्वोच्चको परमादेश अनुसार भोलि म्याद सकिएपछि वा त्यो अगावै अनुसन्धानको प्रतिवेदन बुझाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिमको प्रक्रिया (हाजिर जमानी वा तारिख) पूरा गरी उनीहरूलाई तत्काल हिरासतमुक्त गर्नुपर्नेछ ।

भदौ २३ र २४ मा भएको नवयुवा आन्दोलनका क्रममा प्रधानमन्त्री र गृहमन्त्री रहेका उनीहरूले लापरवाही गरेको भन्दै पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको सिफारिसपछि प्रहरीले गएको १४ गते पक्राउ गरेको थियो ।

Comment


Related News

Latest News

Trending News