संस्थागत विद्यालयहरूले मनपरी रूपमा विद्यार्थी भर्ना र शुल्क असुली गरिरहेको आरोप लाग्न थालेपछि जनकपुरधाम उपमहानगरपालिकाले कडा निर्देशन जारी गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सोमबार एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र सुरु हुनु अघि भर्ना नगर्न र तोकिएको भन्दा बढी शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको हो । नगर कार्यपालिकाको कार्यालयबाट जारी पत्रमा केही संस्थागत विद्यालयहरूले शिक्षा नियमावली २०५९ (संशोधन सहित) को व्यवस्था तथा सर्वोच्च अदालतको हालैको आदेशसमेत उल्लङ्घन गर्दै समयअघि नै भर्ना खोल्ने र अभिभावकबाट चर्को शुल्क असुल्ने गरेको तथ्य सार्वजनिक भएको उल्लेख गरिएको छ ।
उक्त सूचनामा अब नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्नुपर्ने र उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क बाहेक अन्य कुनै पनि शीर्षकमा रकम असुल गर्न नपाइने स्पष्ट पारिएको छ । त्यस्तै, यसअघि अवैध रूपमा असुल गरिएको भर्ना शुल्क सम्बन्धित अभिभावकलाई फिर्ता गर्न पनि पालिकाले निर्देशन दिएको छ । तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
उपमहानगरपालिकाले अभिभावकहरूलाई पनि यस्ता गैरकानुनी गतिविधि भएमा जानकारी गराउन आग्रह गर्दै शिक्षा क्षेत्रमा अनुशासन कायम गर्न सबै पक्षलाई सहयोग गर्न अपिल गरेको छ ।


