भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी मधेश र कोशी प्रदेशका केही ठाउँहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातिको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।
आज पनि दिउँसोपछि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी डडेल्धुरा, दिपायल, पोखरा, भैरहवा लगायतका शहरहरूमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै काठमाण्डौ उपत्यका, ओखलढुङ्गा, धनकुटा, जिरी, ताप्लेजुङ लगायतका ठाउँमा पनि आज मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पर्सि बिहीबार कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागका केही ठाउँहरूमा तथा मधेश प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।



