महोत्तरीको जलेश्वर-बर्दिबास सडकखण्डमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको जलेर मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सिमाना, एकडारा-५ स्थित बखरी चोकबाट करिब २०० मिटर उत्तरतर्फ दुईवटा मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा सवार तीन जना व्यक्तिहरू जलेका हुन्।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा जलेश्वर नगरपालिका-६ का सुभाष दास, सोही स्थानका रवि दास तथा एकडारा गाउँपालिका-३ अजमरपट्टीका अभिषेक मण्डल रहेका छन्। यस्तै दुर्घटनामा जलेश्वर नगरपालिका–६ का रोहित दास, जयकुमार महतो र अभय कापर गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार दुवै मोटरसाइकलमा तीन/तीन जना सवार थिए। दुर्घटनापछि स्थानीय र प्रहरीको टोलीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि जलेश्वर प्रादेशिक अस्पताल पुर्याएको थियो। मृतकहरूको शव पोस्टमार्टमका लागि जलेश्वर प्रादेशिक अस्पतालमा राखिएको छ।


