एसइई परीक्षाको मर्यादा उल्लंघन गर्दै “ह्वाट्सएप” मार्फत चिटिङ गराउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एसइई अन्तर्गत पाँचौँ दिन सञ्चालन भएको अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षाका क्रममा विभिन्न स्थानबाट एक शिक्षकसहित चारजनालाई पक्राउ गरिएको हो।
प्रहरीले चन्द्रपुर नगरपालिका–६ स्थित माध्यमिक विद्यालय जुडीबेलाका १९ वर्षीय रञ्जित साहलाई सीमरा भवानीपुर परीक्षा केन्द्र नजिकबाट नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, परीक्षाको मर्यादा विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा चन्द्रपुर नगरपालिका–७ बनबहुअरीका ४० वर्षीय तेजनारायण चौधरीलाई पनि पक्राउ गरिएको छ। उनी मा।वि। शितलपुरका शिक्षक रहेको प्रहरीले जनाएको छ।
यसैगरी, गुजरा नगरपालिका–५ लक्ष्मीपुरका २१ वर्षीय महमद हुसेन र २४ वर्षीय समिर मन्सुरीलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ह्वाट्सएप समूहमार्फत परीक्षार्थीलाई उत्तर पठाउने तथा चिटिङ गराउने कार्यमा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता ईन्स्पेक्टर जीवनकुमार मैनालीले जानकारी दिएका छन ।
यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिँदै पक्राउ परेकामाथि एसइई परीक्षा सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर कि प्रमुख डिएसपी रुपा लाबुङले जानकारी दिएकी छिन ।


