२०८२ चैत्र २५, बुधबार ०७:३९

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत शनिबारदेखि संसदीय दलको नेता चयन प्रक्रिया थाल्ने जनाए पनि अझैसम्म अगाडि बढाउन सकेको छैन । कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया शुरु गर्न आनाकानी गर्दा कांग्रेसमा अन्योल उत्पन्न भएको छ । पार्टी महामन्त्री प्रदीप पौडेलले २४ चैतभित्र संसदीय दलको नेता चयन गरिसक्ने जानकारी गराएका थिए । कांग्रेसको शीर्ष नेतृत्व नै संसदीय दलको नेताका आकांक्षीसंग छलफलमा रहेकाले समय लागेको नेताहरू बताउन थलोका छन् ।

महामन्त्री गुरुराज घिमिरेका अनुसार सभापति गगन कुमार थापा र शीर्ष पदाधिकारीहरूले आकांक्षीहरूसंग छलफल गरिरहेका छन् । ‘सभापतिज्यूले पनि आकांक्षीहरूसँग छलफल गरिरहनुभएको छ । हामीले पनि छलफल गरिरहेका छौँ,’ महामन्त्री घिमिरेले भने, ‘सहमतिमा संसदीय दलको नेता छनोट गरौँ भनेर समय लिएका हौँ ।’ दलको नेताका आकांक्षीमध्येका एक अर्जुननरसिंह केसीले सहमतिमा दलको नेता चयन हुने बताए । केसी निकट नेताहरूका अनुसार चुनाव हुने स्थितिमा पछि नहट्ने र सहमति हुने भए दाबी नगर्ने मनस्थितिमा केसी छन् । समानुपातिकतर्फका सांसदहरू अर्जुननर सिंह केसी र भीष्मराज आङ्देम्बे दाबेदारमध्ये वरिष्ठ नेताहरू छन् ।

प्रत्यक्षतर्फ निर्वाचित सांसदहरू मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी र नरेन्द्र केरुङ, बासना थापा, निश्कल राईलाई दलको नेताका आकांक्षीका रूपमा हेरिएको छ । ‘जसलाई बनाए पनि सभापति थापानिकटकै नेताहरू हुनुहुन्छ । त्यही भएर सर्वसम्मत बनाउन समय लागेको हो,’ कांग्रेसका एक पदाधिकारीले भने । वरिष्ठ नेताभन्दा नयाँ पुस्ताका सांसदहरूलाई दलको नेताको रूपमा अघि सार्ने विकल्प पनि छ । तर नयाँ सांसदहरूलाई सिनियर नेताहरूले अस्वीकार गर्ने सम्भावना पनि छ । चैत २४ गते भित्र संसदीय दलको नेता चयन गर्ने भनेपछि सहमतिको लागि समय लिएको महामन्त्री पौडेलले बताए ।

सहमति हुँदा समानुपातिकबाट आङदेम्बे र प्रत्यक्षबाट निर्वाचित भएमा आचार्य हुने सम्भावना रहेको कांग्रेस नेताहरू बताउँछन् । नयाँ पुस्ताका सांसदहरूलाई अघि सार्दा पार्टीभित्र वरीयताको विवादले नछोड्ने बुझाइ नेताहरूको छ । त्यसैले नयाँ अनुहारमा सहमतिको विकल्प भए पनि चुनाव हुँदा आउने परिणामबारे कांग्रेसको संस्थापन समूह सचेत छ । अब संसदीय दलको नेता चैत महिनाभित्र छानिसक्ने भनेर कांग्रेसका नेताहरू तयारीमा छन् ।

चैत १६ गते धुम्बाराहीको होटल स्मार्टमा कांग्रेसको पूर्णबहादुर खड्का र डा. शेखर कोइरालापक्षले राष्ट्रियसभा तथा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रम राखेको थियो । सो कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित ३८ सांसदमध्ये ११ जना सहभागी भएका थिए । त्यहाँ प्रतिनिधिसभाका सदस्यहरू सीता थपलिया (उर्मिला), रीना केसी (उप्रेती), टेकबहादुर गुरुङ, गंगालक्ष्मी अवाले, रुक्मिणी कोइराला, गीता सेङदेन, सुशीला ढकाल आचार्य, हरिनादेवी कामी, विष्णुबहादुर खड्का, जयपति रोकाया, निनु कर्ण सहभागी रहेका थिए ।

संस्थापनपक्षमा निश्कल राई, फिरदोस आलम, अभिषेकप्रताप शाह, खडकबहादुर बुढा, प्रकाशसिंह कार्की, बासना थापा, सन्तोष सुब्बा, भरतकुमार स्वार, मोहन आचार्य, नरेन्द्रकुमार केरुङ, जनकराज गिरी, खड्ग शाही, रेनुका काउचा, अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी र मनमाया विक गरी १६ जना सांसद रहेका छन् ।

शेरबहादुर देउवा समूहमा विष्णुबहादुर खड् का, सन्दीप राना, जयपति रोकाया, टेकबहादुर गुरुङ, भीष्मराज आङदेम्बे, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, सुशीला ढकाल आचार्य, सीता थपलिया, हरिनादेवी कामी, पवित्रा विक, नीनुकुमारी कर्ण, रेखाकुमारी यादव, र शाहजान खातुन गरी १५ जना रहेका छन् ।

त्यस्तै शेखर कोइराला समूहका भरतबहादुर खड्का, योगेश गौचन थकाली, गीताकुमारी सेन्दाङ, रुक्मिणी देवी कोइराला, रीना उप्रेती, प्रमिला कुमारी गच्छदार र डा. चन्द्रमोहन यादव गरी ७ जना रहेका छन् । प्रतिनिधिसभा सदस्यहरु विभिन्न गुटउपगुटमा विभाजन भएपछि सभापति थापाले भने केही समयका लागि मौन छन् ।

फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भएपछि सभापति थापाले राजीनामा नै दिएका थिए । तर पार्टी केन्द्रीय कार्य समितिले उनको राजीनामा स्वीकृत भएन । त्यसपछि पार्टीको बैठकबाट काठमाण्डुमै असोज महिनामा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । तर लामो समय देखि रित्त रहेको संसदीय दलको नेता चयनको विषय पेचिलो बनेको छ ।

दलको नेता चयनको विषय पेचिलो बन्दै जादाँ पार्टी भित्र गुटउपगुटमा विभाजन अवस्थामा रहेको छ । शेरबहादुर देउवा समूहले अदालतको फैसला कुर्ने र आन्तरिक रुपमा पार्टी व्यूँत्याउने कार्यलाई पनि अघि सारेको छ । अर्कोतर्फ डा. शेखर कोइरालाले पनि आफ्नो समूहलाई बलियो बनाउने गरी अघि बढ्ने वा के गर्ने विषयमा अलमल रहेको देखिन्छ । उनले केही दिन अघि मात्रै सार्वजनिक रुपमा आफू कुनै पनि गुट समूहमा नरहेको प्रस्ट् याएका थिए ।

Comment


Related News