प्रहरीले विभिन्न सरकारी कार्यालयबाट बिचौलियाको नाममा ३३ जनालाई पक्राउ गरेको छ ।
मंगलबार मधेस प्रदेश प्रहरी कार्यालयले प्रदेशका जिल्लास्थित सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने, छिटो काम गराइदिने बहानामा अतिरिक्त रकम असुल्ने तथा सेवामा अनियमितता गराउने कार्यमा संलग्न सोही क्रममा ३३ जनालाई पक्राउ गरिएको जनाएको छ ।
मधेस प्रहरी कार्यालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी मानबहादुर राईद्वारा जारी गरिएको सो विज्ञप्तिमा प्रदेशका विभिन्न जिल्ला र कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ ।
पर्साको यातायात व्यवस्था कार्यालय वीरगन्जबाट ४ जना, मालपोत कार्यालय वीरगन्जबाट ३ जना, रौतहट मालपोत कार्यालय गौरबाट ५ जना, मालपोत कार्यालय चन्द्रपुरबाट २ जना, सर्लाहीको मलंगवा ट्रायल सेन्टरबाट २ जना, मालपोत कार्यालय मलंगवाबाट ९ जना, धनुषाका विभिन्न सरकारी कार्यालयबाट ४ जना र सप्तरीको विभिन्न कार्यालयबाट ४ जना गरी हालसम्म ३३ जनालाई पक्राउ प्रदेश प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित निकायसँग समन्वय गरी यस्ता अवैध गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा नियन्त्रण प्रक्रिया जारी रहेको प्रदेश प्रहरीले जनाएको छ ।
साथै, सरकारी सेवा लिन जाँदा कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न तथा यस्ता गतिविधि देखिए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।
यता सरकारले मालपोत र नापी कार्यालयहरूबाट बिचौलियाको नाममा लेखापढी व्यवसायीलाई धपाउने अभियान सुरु गरेसँगै मधेस प्रदेशका विभिन्न जिल्लामा लेखापढी व्यवसायी कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका छन् ।
प्रशासनले बिचौलियाको नाममा चलाएको डण्डाले सेवाग्राहीलाई सास्ती भएको छ भने लेखापढी व्यवसायीहरु हामी बिचौलिया होइनौं, सरकारद्वारा इजाजत प्राप्त लेखा व्यवसायी हौं भन्दै आन्दोलनमा उत्रेका हुन ।



