धनुषाको ढल्केबरस्थित मालापोत कार्यालयमा करारका कर्मचारी नियुक्ति गरिएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
कार्यालय प्रमुखले तीन जना कर्मचारी नियुक्ति गरेपछि स्थानीयवासीले प्रक्रिया पारदर्शी नभएको आरोप लगाउँदै विरोध गरेका हुन् । स्थानीय रामकुमार महतोले कार्यालय प्रमुख रोहित विश्वकर्माले विगतमा बिचौलियाको रूपमा काम गर्दै आएका आफ्ना आसेपासे व्यक्तिलाई अवैध रुपमा नियुक्ति गरेको आरोप लगाएका छन् ।
उनका अनुसार करिब डेढ वर्षअघि कार्यालयले विभिन्न पाँच पदका लागि पत्रिकामा सूचना प्रकाशित गरेर भर्ना प्रक्रिया अगाडि बढाएको थियो । त्यसबेला १५० भन्दा बढी व्यक्तिले आवेदन दिएका थिए । आवेदनसँगै प्रतिव्यक्ति तीन सय रुपियाँ राजस्वसमेत मालपोत कार्यालयले संकलन गरेको उनको भनाई छ । महतोले भने, ‘त्यसबेला प्राप्त निवेदनमाथि कुनै प्रक्रिया अघि बढाइएन । न लिखित परीक्षा भयो, न मौखिक अन्तर्वार्ता । लामो समयसम्म कुनै निर्णय नगरेर अहिले लुकिछिपी तीन जनालाई नियुक्ति गरिएको छ ।’ अहिले गरेको नियुक्ति खारेज गर्न र पहिल्यै आवेदन दिएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने अथवा निवेदकहरुले तिरेको राजस्व फिर्ता गर्नुपर्ने उनले माग गरे ।
कार्यालय प्रमुख विश्वकर्माले नियुक्ति प्रक्रिया नियम अनुसार नै गरिएको दाबी गरेका छन । उनले कार्यालयको आवश्यकता हेरेर नियुक्ति गरिएको बताउँदै यसअघिका निवेदन सोही आर्थिक वर्षभित्र मात्र मान्य हुनेछ आर्थिक वर्ष समाप्त भएपछि ती निवेदन स्वतः खारेज हुन जाने बताए ।



