सर्लाहीको हरिपूर्वा नगरपालिकामा युवाले तालाबन्दी गरेका छन् । सडक र नाला निर्माणको माग गर्दै बुधबार हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारी गाउँका युवाले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
आन्दोलित युवाका अगुवा उद्धवकुमार यादवले नगरपालिका कार्यालयले गाउँबस्ती छाडेर चौडीतर्फ बाटो र नाला निर्माण गरेको विरोधमा तालाबन्दी गरिएको जानकारी दिए । बस्ती भएको क्षेत्रलाई छाडेर चौडीतर्फ बाटो बनाइएकोबारे तीन साताअघि नगर प्रमुखलाई भेटेर निवेदन बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको यादवले बताए ।
उनले भने, ‘गाउँमा सडक छैन, तर चौडीतर्फ जाने सडक र नाला बनिरहेकाले त्यसको विरोधमा नगरपालिकामा आएर ताला लगाएका हौँ ।’ आफूहरूले ध्यानाकर्षण गराएपछि बस्तीतर्फ सडक बनाउन एक पटक डोजर लगाएर साइड क्लियर गर्ने काम भएको तर त्यसपछि भने बेवास्ता गरिएको आन्दोलित युवाको भनाइ छ ।
नगरपालिका र जनप्रतिनिधिको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको आन्दोलित युवाको भनाइ छ । हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले भने स्थानीयले सडकको अतिक्रमण हटाउन अटेरी गरेका कारण सडक बनाउन समस्या परेको गुनासो गरेका छन् । गत वर्ष नै धनकौल पूर्वारीमा सडक र नाला बनाउन ठेक्का लागे पनि स्थानीयले काम हुनै नदिएपछि दुई करोड रुपियाँ बजेट फ्रिज भएर गएको बताउनुभयो ।
४० फिट चौडा सडक बनाउने गरी टेन्डर भएको तर स्थानीयले विरोध जनाएपछि ३३ फिटमा सहमति गरिएको तर सो सहमतिपछि पनि सडकको क्षेत्राधिकार खाली गराउनै नसकेको नगर प्रमुख साहको भनाइ छ ।


