नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो र परिवारको सम्पत्ति सम्बन्धी अनुसन्धानबारे सार्वजनिक भएको विषयलाई लिएर स्पष्टीकरण दिएका छन्।
पूर्वसभापति देउवाले सामाजिक सञ्जालमार्फत आफू र परिवारबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै सम्पत्तिसम्बन्धी विषयमा भ्रामक तथा झुटा प्रचार भएको दाबी गरेका छन्।
देउवाले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको उल्लेख गरेका छन्।
उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताको पक्षमा आफूले जीवनभर संघर्ष गरेको भन्दै आफ्नो जीवन “खुला पुस्तक” जस्तै रहेको उल्लेख गरेका छन्।
भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्न आफूले पहल गरेको देउवाको भनाइ छ।
गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री रहँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको स्मरण गराउँदै वास्तविकता समयक्रमसँगै स्पष्ट हुँदै जाने बताएका छन्।
देउवाले स्वास्थ्य उपचारका लागि हाल आफूहरू विदेशमा रहेको र उपचार जारी रहेको जानकारी पनि दिएका छन्।
यस्तो छ उनको विज्ञप्तीः
आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ ।
म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।
नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।
मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।
स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।
जय नेपाल।
शेरबहादुर देउवा


