२०८२ चैत्र २७, शुक्रबार ०७:१५

उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार दिउँसो ४ बजे प्रतिनिधिसभाको सदनबाट निर्वाचन प्रक्रिया अनुसार उपसभामुख चयन हुने संघीय संसद सचिवालयले जनाएको छ ।

सांसद ठाकुरलाई नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी-नेकपा)ले औपचारिक रुपमा समर्थन गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरेको छ । उपसभामुखमा ठाकुरको बलियो सम्भावना रहेको छ । बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तय भएको निर्धारित समयमा दुई जनाको उम्मेदवारी परेको थियो ।

सभामुख र उपसभामुख फरक दल र लिंग हुनुपर्ने व्यवस्था रहेको छ । यसअघि नै रास्वपाबाट डिपी अर्याल सभामुख निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभामा रास्वपासहित ६ वटा दल छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) का ५ सांसद छन् ।

श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेलगत्तै रुबी कुमारी ठाकुर देशव्यापी रुपमा चर्चाको विषय बनेकी छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएदेखि चर्चामा रहेकी एक सामान्य परिवारकी रुबी अब उपसभामुख बन्ने प्रायः निश्चित नै छ । यसले गर्दा पनि उनी अहिले थप चर्चामा छिन् । कुनै राजनीतिक पृष्ठभूमि नभएकी रुबी नेपालको इतिहासमा सबैभन्दा कम २५ वर्षको उमेरमै उपसभामुख बन्ने भएकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका– १४ मुजेलियाकी रुबी सामान्य कपाल काट्ने ठाकुर-हजाम) परिवारकी छोरी हुन् । उनी दुई महिना अघि मात्रै श्रम संस्कृति पार्टीमा जोडिएकी थिइन् । जेन– जी आन्दोलनबाटै देशका लागि केही गरौँ भन्ने सोच बनाएर सामाजिक कार्यमा लागेकी रुबी निर्वाचनको करिब तीन महिना अघि श्रम संस्कृति पार्टीका मधेश प्रदेश पदाधिकारी दीपकजंग ठाकुरसंग सम्पर्क गरी राजनीतिमा जोडिने इच्छा राखेकी थिइन् । उनको इच्छा र मेहनतको सम्मान गर्दै दीपकजंगले उनको नाम समानुपातिकतर्फ सिफारिस गरेका थिए ।

दीपकजंगले भने अनुसार निर्वाचनमा घर घर गई श्रम संस्कृति पार्टीका लागि मत मागेको र त्यसबेला आफूलाई सांसद बन्नेबारेमा कल्पना नभएको उपसभामुख पदकी प्रस्तावित उम्मेदवार रुबीले बताइन् । उनले आफू समानुपातिक सूचीमा रहेको समेत थाहा नपाएको भन्दै सांसद निर्वाचित भएको कुरामा विश्वास नलागेको सुनाइन् । किसान सोगारथ ठाकुरले अरुको खेतमा अधियाँमा काम गर्दै परिवारको गुजारा चलाउन गाह्रो भएपछि मुजेलियामै कपाल काट्ने सानो सैलुन पसल सञ्चालन गर्दै आएका थिए ।

सोगारथ सैलुनबाट पनि परिवारको गुजारा चलाउन सम्भव नभएपछि करिब ८ वर्षअघि साउदी अरब वैदेशिक रोजगारमा गएका थिए । छोरी रुबी सांसदमा चयन भएको बेला पनि उनी वैदेशिक रोजगार साउदी अरबमै थिए । छोरी रुबी सांसद भएपछि आफू वैदेशिक रोजगारबाट फर्केको सोगारथ बताए । रुबी हर्क सम्पाङलाई सांसद चयन भएपछि पहिलो पटक भेटेकी हुन् । रुबीकी आमा रेणु ठाकुर गृहिणी हुन् । परिवारमा रुवीसहित चार बहिनी र दुई भाइ छन् ।

२०५६ चैत १८ गतेका दिन जेठी छोरीको रुपमा रुबीको जन्म भएको थियो । मुजेलियास्थित सोहनी माध्यमिक विद्यालयबाट एसइई गरेपछि उनले इञ्जिनियरिङमा डिप्लोमा गरिन् । सांसद निर्वाचित हुनु अघिसम्म उनी वास्तु आर्किटेक्चरमा करिब ८ महिनादेखि कार्यरत थिइन् । राजनीतिक पृष्ठभूमी नभएकी र सामान्य परिवारकी रुबी अब आफ्नो समस्याभन्दा देशको समस्यामा काम गर्ने दृढता व्यक्त गरिन् । मधेशमा बेरोजगारी र दहेज मुख्य समस्या रहेको उनको बुझाइ छ ।

यसबारे संसदबाट कानुन बनाएर अघि बढ्ने उनको प्रण छ । डिप्लोमा इञ्जिनियरिङ गरिसकेकी रुबी अब बीई -ब्याचलर इञ्जिनियरिङ) आफ्नै गाउँठाउँ अर्थात् जनकपुरधामबाटै गर्ने सोचमा छिन् । सांसदको जिम्मेवारी पनि सम्हाल्दै उमेर छँदै समय मिलाएर बीई गर्ने सोच रहेको रुबी बताइन् । जेन– जी उमेरमै उपसभामुख जस्तो सम्मानित पदमा पुग्न लागेकी रुबी अविवाहित नै छन् । पाँच वर्ष प्रतिनिधि सभामा समय दिने र त्यसपछि समय मिलाएर अध्ययन गरेपछि विवाह गर्ने उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News