२०८२ चैत्र २७, शुक्रबार ०७:३३

जानकी स्वयंसेवक संघले माता सीता जन्मोत्सव (जानकी नवमी) र राजर्षि जनक जयन्तीका अवसरमा राष्ट्रिय बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष स्वामी राम स्वराजले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्री तथा सम्बन्धित निकायलाई पत्र पठाउँदै यस्तो माग गरेका हुन् । संघले मिथिलाको पवित्र भूमिमा अवतरित माता सीता सम्पूर्ण विश्वका नारीहरूको मर्यादा, त्याग, धैर्य, पवित्रता र आदर्शको प्रतीक भएको उल्लेख गर्दै उनको जन्मोत्सवलाई राष्ट्रिय स्तरमा मान्यता दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

पत्रमा माता सीताले नारी शक्ति, सहनशीलता र धर्मको अनुपम सन्देश मानव सभ्यतालाई दिएको तथा नेपाललाई विश्व समुदायमा आध्यात्मिक र सांस्कृतिक पहिचान दिलाएको उल्लेख गरिएको छ । त्यस्तै विदेहराज राजर्षि जनकलाई महान दार्शनिक, न्यायप्रिय शासक तथा आदर्श व्यक्तित्वका रूपमा चित्रण गर्दै नेपाल सरकारले उनीहरूलाई राष्ट्रिय विभूति घोषणा गरिसकेको भएपनि जन्मोत्सवमा राष्ट्रिय बिदा नदिइनु दुःखद र आश्चर्यजनक रहेको संघको भनाइ छ ।

अन्य राष्ट्रिय विभूतिहरूको जन्मजयन्तीमा बिदा दिइने परम्परा भए पनि जनक–सीताजस्ता ऐतिहासिक र सांस्कृतिक महत्वका व्यक्तित्वको सम्मानमा बिदा नदिइनुले राष्ट्रिय गौरवमाथि प्रश्न उठाएको उल्लेख गरिएको छ । संघले प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने जानकी नवमी (यस वर्ष २०८२ वैशाख १२ गते, शनिबार) तथा फाल्गुण कृष्ण अष्टमीका दिन मनाइने राजर्षि जनक जयन्तीमा राष्ट्रिय बिदा घोषणा गर्न माग गरेको छ ।

साथै यस विषयमा आवश्यक पहल गरी मन्त्रिपरिषद्बाट निर्णय गर्न प्रधानमन्त्री तथा गृह मन्त्रालयलाई विशेष अनुरोध गरिएको छ । संघले विगत वर्षहरूदेखि भइरहेको उपेक्षाको अन्त्य गर्दै सरकारबाट जानकी नवमी र राजर्षि जनक जयन्तीमा राष्ट्रिय बिदा घोषणा हुने विश्वास व्यक्त गरेको छ ।

Comment


Related News

Latest News

Trending News