२०८२ चैत्र २७, शुक्रबार १०:३४

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तरता दिन आइतबारसमेत अस्पतालका बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आइतबारको बिदाका कारण बिरामीलाई मर्का पर्न नदिन यस्तो व्यवस्था मिलाउन सबै अस्पताल र स्वास्थ्य निकायलाई अनुरोध गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू हुँदै छ । सोही सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाइराख्न मन्त्रालयले नयाँ कार्यविधि अघि सारेको हो ।

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार अस्पतालले आइतबारको हकमा आफ्नो कार्यबोझ (वर्कलोड) र उपलब्ध जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउनुपर्नेछ । यसरी आइतबार काम गर्ने कर्मचारीलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन नै बिदा पाउने गरी व्यवस्था मिलाउन भनिएको छ ।

“विभिन्न कारणले बिदा दिन नसकिने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ,” विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले प्रादेशिक अस्पतालहरूमा समेत यही बमोजिमको व्यवस्था मिलाउन र सम्बन्धित प्रदेशका स्वास्थ्य मामिला हेर्ने मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।

Comment


Related News