राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना अनुसार सरकारले परिणाममुखी काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना लगाएतका जनचाहनालाई पुरा गर्न वर्तमान सरकारले परिणाममुखी काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।
निर्वाचनपछि नयाँ सरकार बनेसंगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको उहाले बताउनुभयो ।
त्यस्तै उहाले जनताको चाहना पूरा गर्न संसदले नागरिक केन्द्रित, जनकल्याणकारी कानुन निर्माण गर्नुपर्ने उल्लेख गर्दै निर्माण भएका कानुनको मर्म र भावनाअनुरुप प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा आफु विश्वस्त रहेको धारणा राख्नुभयो । साथै, न्यायपालिकाबाट छिटो छरितो, स्वतन्त्र र निष्पक्ष न्यायसम्पादन हुन सके मात्रै परिवर्तनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने उहाले बताउनुभयो ।
उहाले वर्तमान संविधान कार्यान्वयनको बिगत १० बर्षको अभ्यास र अनुभव लागि महत्वपूर्ण भएको भन्दै संविधानको मर्म र भावना तथा जनताको चाहनाबमोजिम गर्नुपर्ने काम अझै धेरै बाँकी रहेको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूत गर्न तथा आम नागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपपर्ने उहाले बताउनुभयो । राष्ट्रपति पौडेलले सरकारी संयन्त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नसक्ने गरी सेवाप्रवाहको व्यवस्था मिलाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास रहेको धारणा राख्नुभयो ।
त्यसैगरि उहाले रोजगारीका नयाँ अवसरको खोजी गर्ने र बजारको मागअनुरूपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्दै विदेश पलायन भएको युवा वर्गलाई आफ्नै देशमा बस्ने वातावरण बनाउनेमा सरकारले ध्यान दिने उल्लेख गर्नुभयो । विश्वपरिवेशमा देखिएका द्धन्द तथा अस्थिरताको अवस्थालाई मध्यनजर गरी सरकार र सम्वद्ध सबै पक्षले राष्ट्रिय हितलाई केन्द्रमा राखी सन्तुलित, विश्वसनीय र पारस्परिक सम्मान र सहयोगमा आधारित कुटनीतिक सम्बन्ध अगाडि बढाउनु पर्ने आवश्यकता रहेको समेत उहाले बताउनुभयो । राष्ट्रपति पौडेलले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको प्रवद्र्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हांसिल गर्न फुटेर नभइ एकताबद्ध भई अघि बढ्नु पर्ने खाँचो रहेको पनि बताउनुभयो ।


