२०८२ चैत्र २८, शनिबार ०६:४०

व्यवसायी घराना शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि प्रहरीले फेरि पक्राउ गरेको छ । इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा अग्रवाल शुक्रबार पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इन्फिनिटी होल्डिङ्सका प्रमुख दीपक भट्टलाई बिहीबार काठमाण्डुको नक्सालबाट पक्राउ गरेको थियो । त्यसको अर्को दिन अग्रवाल समातिएका छन् । अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको जनाइएको छ ।

नेपाल प्रहरी र विभागका अधिकारीहरूले अग्रवाल पक्राउबारे औपचारिक प्रतिक्रिया भने दिन चाहेनन् । नेपाल प्रहरीका एकजना अधिकारीले भने, ‘अनुसन्धान भइरहेको विषयमा धेरै बोल्न मिल्दैन ।’ करोडौँको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्राचार गरेको थियो ।

त्यसपछि विभागले २०७९ पुसमा भट्टसंग प्रारम्भिक बयान लिएको थियो । तर सामान्य छानबिन मात्रै गरेर विभागले गत वैशाखमा मुद्दा नचलाई राष्ट्र बैंकलाई उजुरी फिर्ता गरिदिएको थियो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बनेपछि विभागले पुरानो फाइल ब्युँताएर पुनः अनुसन्धान थालेको थियो ।

जलविद्युत्, बीमा, लघुवित्त, ट्राभल्स एजेन्सी, शैक्षिक संस्था, विभिन्न सार्वजनिक ठेक्कापट्टा तथा हातहतियार उत्पादक विदेशी कम्पनी, घरजग्गा/रियल इस्टेट कम्पनीलगायतमा लगानी गरेका भट्ट र शंकर ग्रुपबीच २०७७ देखि २०७९/०८० को अवधिमा विभिन्न शंकास्पद कारोबार भएको तथ्य सार्वजनिक भएको थियो ।

२०७९/०८० को वार्षिक बजेट बनाउने क्रममा भट्टको सक्रियतामा शंकर ग्रुपका लागि लाभ हुने गरी बजेटमै करको दर हेरफेर गराएको आरोप छ । बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको भूमिका पनि शंकास्पद देखिएको थियो । २०७८/०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा पूरक बजेट बनाउँदा पनि शंकर ग्रुपलाई लाभ पुग्ने गरी कर छुट दिलाउन भट्टको भूमिका रहेको आरोप लागेको थियो ।

भट्ट र शंकर ग्रुपका बैंक खातामार्फत शंकास्पद कारोबार भएको पाइएपछि राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ -एफआईयू) ले अनुसन्धान गर्न भन्दै विभागलाई पत्र पठाएको थियो । राष्ट्र बैंकले विभागलाई पठाएको उक्त पत्रमा उल्लेख भएको विवरण अनुसार भट्टका नाममा सिद्धार्थ बैंकमा रहेको खातामा जुन २०२१ मा जगदम्बा स्टिल प्रालिका नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको खाताबाट ४५ करोड रुपैयाँ ‘ट्रान्सफर’ गरिएको थियो । जगदम्बा शंकर ग्रुपको कम्पनी हो ।

भट्टका नाममा ओभरड्राफ्ट (ओडी) खातामा सन् २०२१ को जुन र जुलाईमा ३० करोड १५ लाख ८७ हजार रुपैयाँ ‘ट्रान्सफर’ गरिएको र सोही खाताबाट नै ४५ करोड ४ लाख ४५ हजार रुपैयाँ निकालिएको थियो । बैंकबाट स्वीकृत सर्त अनुसार ऋण चलाउन वा शोध भर्ना गर्न मात्र ओडी खाता सञ्चालन हुनुपर्नेमा भट्टको ५० लाख सीमा भएको उक्त खाताबाट ४५ करोड रुपैयाँसम्मको कारोबार गरिएको थियो । त्यही बेला भट्टले नै ओडीको सीमा ४४ करोड रुपैयाँ भए पनि २०२१ जुलाईमा १८ करोड ४० लाख ९५ हजार जम्मा गरेर ६३ करोड ४० लाख ९३ हजार निकालिएको पनि पाइएको थियो ।

दुई पक्षबीच भएको कारोबारको वैध स्रोत पुष्टि नभएपछि विभागले अनुसन्धान थालेको थियो । तर सत्ता–शक्ति केन्द्र लगाएर शंकर ग्रुपका सञ्चालक र भट्ट दुवैले अनुसन्धानमा वाधा अड्चन खडा गरेको अधिकारीहरूको भनाइ छ । पछिल्लो समय भने पुरानो फाइल ब्युँताएर अनुसन्धान अघि बढाइएको छ । शंकर ग्रुप र भट्ट मात्र नभइ उनीहरूलाई ‘राजनीतिक छत्रछाया’ दिएको आरोप लागेका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानमा तानिएका छन् ।

सम्पत्ति शुद्धीकरण प्रकरणमै पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई विभागले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । विभागका एक अधिकारीले जनाए अनुसार शंकर ग्रुपका अन्य सञ्चालक पनि अनुसन्धानको दायरामा छन् । बीमा प्राधिकरण, धितोपत्र बोर्डमा आफ्ना मान्छे लैजानेदेखि आफू अनुकूलका कानुन बनाउन, स्वार्थ बाझिने गरी नीतिगत हस्तक्षेप गराउन पनि यी दुवै समूह विगतदेखि नै चलखेल गर्दै आएको आरोप छ ।

शुक्रबार पक्राउ परेका अग्रवाल र बिहीबार समातिएका भट्ट दुवैको हिमालय रि–इन्स्योरेन्समा साझेदारी हुन् । शंकर ग्रुप जगदम्बा स्टिल, जगदम्बा मोटर्स, जगदम्बा इन्टरप्राइज, रिद्धिसिद्धि सिमेन्ट, युनियन लाइफ इन्स्योरेन्स, विभिन्न जलविद्युत् आयोजनालगायतमा आवद्ध रहेको छ ।

Comment


Related News

Latest News

Trending News