राष्ट्रिय स्वतन्त्री पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री नियुक्त भएपछिका पहिलो साता कौतुहलपूर्ण रह्यो । बिहान मर्निङ वाकमा जानु अघि आम नागरिक अपडेट हुन चाहन्थे– आज को को पक्राउ परे ? कसको केमा नियुक्ति भयो ? को को हटाइए ? कोमाथि कुन मुद्दा दर्ता भयो ? दोश्रो साता झन् सनसनीपूर्ण रह्यो– को को पक्राउ परेर छुटे ? किन पक्राउ परे र किन छुटे ? कुन मन्त्रीलाई बर्खास्त अनि कुन मन्त्रीलाई सचेत गराइयो ? तेश्रो सात झन् उकुसमुकुसपूर्ण छ– कुन कुन मन्त्री बर्खास्त भए ? को को मन्त्री बने ? अगाडि के के होला ?
समयले नै बताउँदै जाने छ । सरकारले गरेका कामकाजको विरोध र समर्थन स्वाभाविक हो । पक्ष–विपक्षमा विचार मन्थन हुनु । सडक प्रदर्शन हुनु लोकतन्त्रको अनुपम पक्ष हो । लोकतन्त्रमा विरोधको स्वरलाई सम्मान पनि गर्नु पर्दछ । श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा सक्रिय गराएको आरोप लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई प्रधानमन्त्री बालेन्द्र शाहले सफाईको मौकासमेत नदिइ बिहीबार बर्खास्त गरेर अर्को दिन अर्थात् शुक्रबार साहले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी सप्तरी– २ बाट निर्वाचित रामजी यादवलाई दिएका छन् भने स्वयं बालेन्द्र साहले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी महोत्तरी–४ बाट निर्वाचित गौरी कुमारी यादवलाई दिएका छन् ।
मन्त्रिपरिषद् को पुनर्गठनबाट धनुषाका जनता आहत भए पनि मधेशका बहुसंख्यक यादव जातिको प्रतिनिधित्वले नागरिकलाई राहत दिएको छ । बालेन्द्र साहको यस कदमले सरकार त्वरित ऐक्शनमा रहेको तथा नातावादको मामिलामा शून्य सहनशीलताको नीति लिएको प्रष्ट पारेको छ । तर पछिल्ला तीन सातादेखि जारी पक्राउ र रिहाइ, मन्त्री चयन र बर्खास्त, सरकारको समर्थन र विरोध तथा मुद्दा दर्ता र फिर्ता जस्ता घटना परिघटनाबीच मलाई सबभन्दा बढी मन परेको समाचार भने ‘जनकपुरधामकी बेटी रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख जस्तो गरिमामय पदमा निर्वाचित हुनु हो ।’ शुरुमा गाउँमै सैलुन चलाएका तथा पछिल्ला केही वर्ष विदेशमा श्रम बेचेर छोरी सांसद भएपछि खुसियाली बाँड्न जनकपुरधाम फर्केका पिता परमेश्वर ठाकुरका परिवारमात्र होइन, अचेल सिंगै जनकपुरधाम खुसीले गद्गद छन् ।
रुबीको क्षमतामाथि विश्वास गरेर श्रम संस्कृति पार्टीले उनलाई उपसभामुखको उम्मेदवार बनाउनु यस पार्टीको मधेशप्रतिको सम्मान प्रदर्शीत गरेको छ । मधेशका ३२ प्रतिनिधिसभा सिटमध्ये ३० मा विजयी भएको तथा मधेशबाट सर्वाधिक समानुपातिक मत सोहरेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनकपुरधामबाट एउटै पनि समानुपातिक सांसद दिएन ।
मधेश प्रदेशको राजधानीबाट एउटै मन्त्री बनाएन । तर श्रम संस्कृति पार्टीले जनकपुरधामकी २५ वर्षीया रुबी कुमारी ठाकुरलाई उपसभामुखको उम्मेदवार बनाएर सीता नगरीमाथि ठूलै गुण लगाएको छ । बधाई रुबी । आभार हर्क साम्पाङ जी । मधेशी–आदिवासी जनजाति समीकरणलाई यसरी नै निरन्तरता दिइ रहनु ।
२०५६ साल चैत १८ गते जनकपुरधामको मुजेलियामा जन्मेकी रुबी कुमारी ठाकुर, राजनीतिमा आएको तीन महिनाभित्र यति ठूलो छलाङ मारेकी छन् । रास्वपा अचेल झ्याली पिट्दै छ– ‘रुबी कुमारी ठाकुरलाई रास्वपाले समर्थन गरेको छ ।’ अर्को पार्टीले अघि सारेको जनकपुरधामकी उम्मेदवारलाई समर्थन गरेर वाहवाही बटुल्न खोजेको रास्वपाले मधेशको राजधानीबाट एक जनालाई पनि मन्त्री बनाएको अपजश लिने कि नलिने ? खासै कार्यकारी अधिकार नभएको उपसभामुखको पद शुरुदेखि नै मधेशी र महिलामैत्री रहेको छ ।
महेन्द्र नारायण निधि प्रतिनिधिसभाका पहिलो उपसभामुख हुन् । बहुदलीय प्रतिस्पर्धामा आधारित २०१५ सालको निर्वाचनपश्चात् गठित प्रतिनिधिसभामा निधि उपसभामुख निर्वाचित भएका थिए । उनी २०१६ साल चैत १८ गते देखि २०१७ पुष १ गतेसम्म उपसभामुखको रुपमा काम गरेका थिए ।
२०४८ साल यता पुनः बहुदलीय प्रतिस्पर्धामा आधारित निर्वाचन हुन थालेका छन् । यस अर्थमा रुबी कुमारी ठाकुर १३ औं उपसभामुख हुन् । १३ मध्ये रुबी छैँठो मधेशी तथा आठौँ महिला उपसभामुख हुन् । जनकपुरधामका महेन्द्र नारायण निधि (२०१६–१२–१८ देखि २०१७–९–१) प्रतिनिधिसभाका पहिला उपसभामुख थिए । त्यसपछि क्रमशः महन्थ ठाकुर (२०४८–३– ९ देखि २०५१–९–२), रामविलास यादव (२०५१–९–३ देखि २०५४–६–२७), लीला सुब्बा श्रेष्ठ (२०५५–१–२३ देखि २०५५–६– २४) भोजराज जोशी (२०५५–६–२८ देखि २०५५–१२–९), चित्रलेखा यादव (२०५६– ३–१५ देखि २०६३–१०–३) पूर्णकुमारी सुवेदी (२०६५–८–१३ देखि २०७०–८–४), ओनसरी घर्ती (२०७०–११–१४ देखि २०७२–६–२७), गंगाप्रसाद यादव (२०७२– ६–२७ देखि २०७४–६–२९), डा.शिवमाया तुम्वाहाङफे (२०७४–१२–४ देखि २०७६–१०– ६), पुष्पा भुषाल गौतम (२०७९–३–३१ देखि २०७९–६–१), इन्दिरा राना (२०७९–१०–९ देखि २०८२–१०–५) उपसभामुख बनेका थिए । रुबी कुमारी ठाकुर (२०८२–१२–२७ देखि….) को रुपमा जनकपुरधामले पुनः उपसभामुख पाएको छ ।
सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभाको अध्यक्षता गर्नु उपसभामुखको प्रमुख काम भनिए पनि नेपालको संविधान– २०७२ ले उपसभामुखलाई संवैधानिक आयोगको सदस्यको रुपमा महत्वपूर्ण जिम्मेवारी पनि तोकेको छ ।
संवैधानिक आयोगको सदस्यको रुपमा रुबी, प्रधानमन्त्री बालेन्द्र साह, प्रधानन्यायाधीश, सभामुख डीपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता (नेकाले हालसम्म तोक्न नसकेको) संगै सहभागी हुनेछिन् । संवैधानिक परिषद् सर्वोच्च अदालतका न्यायाधिश र संवैधानिक आयोगमा हुने नियुक्तिका लागि सिफारिस गर्छ ।
यस प्रकार प्रतिनिधिसभाको बैठकको अध्यक्षता, कानुन निर्माण तथा संवैधानिक पदहरुमा नियुक्ति सिफारिस गर्ने अधिकार पाएकी २५ वर्षीया जेन–जी पुस्ताकी रुबी कुमारी ठाकुरको कोमल काँधमा गाह«ो अभिभारा आएको छ । रुबी आफ्नो अभिभारा पूरा गर्न सकून् । नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना जनकपुरधामवासीलाई ।



