२०८२ चैत्र २९, आईतवार ०९:०१

दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ ।

आउँदो वैशाख २ गते बुधबारदेखि देशभर आर्थिक गणनाको काम शुरू हुँदैछ । कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आउँदो असार महिनाको पहिलो हप्ताभित्र सम्पन्न हुनेछ । गणनाका लागि झण्डै पाँच हजार जनशक्ति परिचालित भएका छन् ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसाय तथा सरोकार भएकाहरूलाई आग्रह गर्नुभएको छ । उहाँले देशको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलनको महत्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गर्नुभएको छ ।

गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण सङ्कलनको उद्देश्य राखिएको छ ।

देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिने छ ।

आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरुरी रहेको तथ्याङ्क कार्यालयले स्पष्ट पारेको छ । यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेका विवरण सार्वजनिक भएको थियो ।

Comment


Related News