भारतीय संगीतकी बहुमुखी गायिकामध्ये एक आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ।
मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो।
मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार केही महिनादेखि उनको स्वास्थ्य अवस्था राम्रो थिएन। शनिबार राति अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटर सहितको आइसियुमा राखिएको थियो।
सन् १९३३ मा सांगली (महाराष्ट्र) को प्रख्यात मङ्गेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरबाट व्यावसायिक गायन सुरु गरेकी थिइन्। उनले सन् १९४३ मा आफ्नो पहिलो चलचित्र गीत रेकर्ड गराएकी थिइन्।
आफ्नी दिदी स्वर्गीय लता मंगेशकरसँगै उनले दशकौंसम्म भारतीय पार्श्व गायनमा एकछत्र राज गरिन्। ५० को दशकसम्म बलिउडमा आफ्नो बलियो स्थान बनाइसकेकी आशाले झण्डै आठ दशक लामो करियरमा हजारौं गीत गाएकी छन्। उनले ठूलो संख्यामा नेपाली गीत पनि गाएकी छन्।
भोसलेको अन्तिम संस्कार भोलि (सोमबार) गरिनेछ।



