साविक विजेता विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ५६ रनको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने सम्भावना कायमै राखेकाे छ ।
प्रधानमन्त्री कपमा सुदूरपश्चिमले पहिलोपटक विभागीय टोलीलाई पराजित गरेको हो । आइतबार जनकपुरस्थित रामजानकी बहुउदेश्यीय रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको पुलिस ३५.१ ओभरमा १३५ रनमा समेटियो ।
पुलिसका लागि गुल्सनकुमार झाले ६४ बलमा ५ छक्का र १ चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी, दिलसद अली, अमित श्रेष्ठ र कप्तान आरिफ शेखले १९–१९ तथा दिनेश खरेल र शंकर रानाले १०–१० रन बनाए ।
सुदूरपश्चिमका लागि हेमन्त धामी र कप्तान शेर मल्लले ३–३ तथा नारायण जोशी, अशोक धामी र खडक बोहराले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि नारायण जोशीले ८० बलमा ७ चौका र ६ चौकाको मद्दतले सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी, खडक बोहराले २२, हेमन्त धामीले २०, अशोक धामीले १८, किरण ठगुन्नाले १७ र राजु रिजालले १६ रन बनाए ।
पुलिसका लागि दिनेश खरेलले ४, सागर ढकालले ३, कुशल भुर्तेलले २ र गुल्सनकुमार झाले १ विकेट लिए ।
जितसँगै ९ खेलमा १२ अंक जोडेको सूदूरपश्चिम १२ अंकका साथ दोस्रो स्थानमा छ। पराजित पुलिसले ८ खेलबाट ९ अंक जोडेको छ ।
सुदूरपश्चिमकाे याे जितसँगै ७ खेलबाट १३ अंक जोड्दै शीर्षस्थानमा रहेको आर्मीले भने २ खेल अगावै फाइनलमा स्थान बनाएको छ ।



