२०८३ बैशाख १, मंगलवार ०७:००

पर्साको वीरगञ्जमा कार्यरत एक प्रहरी जवानको हत्या भएको छ । उनको हत्या प्रकरणले भने नयाँ मोड लिएको जनाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हत्या विवाहेतर प्रेम सम्बन्धका कारण योजनाबद्ध रूपमा गरिएको खुलेको प्रहरीले जनाएको छ ।

घटनाले स्थानीय क्षेत्रमा त्रास र चासो दुवै बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भइ जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय प्रहरी जवान विकास चौरसियाको आइतबार साँझ वीभत्स रूपमा हत्या गरिएको हो । उनलाई वीरगन्ज महानगरपालिका–११ रानीघाटस्थित एक घरमा बोलाएर कुटपिट गरी मारिएको पुष्टि भएको छ ।

पर्सा प्रहरीका अनुसार चौरसियालाई रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाँको घरमा डेरा लिएर बस्दै आएका रौतहटको माधवनारायण नगरपालिका–१ बस्ने २६ वर्षीय सन्तोष साहको कोठामा बोलाइएको थियो। सोही कोठामा सन्तोष साह, उनकी २४ वर्षीया पत्नी सोनी कुमारी साह, सन्तोषका नातामा पर्ने १९ वर्षीय विशाल साह -महागढी नगरपालिका–७, बारा) र उनका साथी भारत उत्तरप्रदेश अलीगढ निवासी २१ वर्षीय ओमवीर प्रजापति मिलेर चौरसियामाथि आक्रमण गरेका थिए ।

घटनामा संलग्न चारै जनालाई प्रहरीले सोही साँझ नियन्त्रणमा लिइसकेको छ । प्रहरी उपरीक्षक सुदीपराज पाठक का अनुसार, प्रारम्भिक अनुसन्धानले हत्या व्यक्तिगत रिसिइबी र विवाहेतर सम्बन्धको कारणबाट प्रेरित भएको देखाएको छ। अनुसन्धानबाट खुलेअनुसार प्रहरी जवान चौरसिया र सन्तोष साहकी पत्नी सोनीबीच लामो समयदेखि अनैतिक सम्बन्ध रहेको थियो ।

उक्त सम्बन्धबारे जानकारी पाएपछि सन्तोष साह आक्रोशित बनेका थिए र उनले चौरसियाको हत्या गर्ने योजना बनाएका थिए । योजना अनुसार उनले घटनाको दिन आफ्ना सहयोगीहरू विशाल साह र ओमवीर प्रजापतिलाई कोठामा बोलाएर तयारी अवस्थामा राखेका थिए । त्यसपछि सन्तोषले आफ्नी पत्नी सोनीलाई प्रयोग गर्दै चौरसियालाई फोन गरेर कोठामा बोलाउन लगाएका थिए ।

सोनीको फोन पाएपछि चौरसिया निसंकोच उक्त कोठामा पुगेका थिए। तर, त्यहाँ पुगेपछि उनीमाथि चारै जनाले मिलेर लठ्ठी तथा रड प्रयोग गरी निर्मतापूर्वक कुटपिट गरेका थिए । गम्भीर रूपमा घाइते भएका चौरसियाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो र चारै जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले घटनास्थलबाट आक्रमणमा प्रयोग गरिएको सामग्रीसमेत बरामद गरेको जनाएको छ । प्रहरी उपरीक्षक पाठकका अनुसार, ‘हालसम्मको अनुसन्धानले यो घटना पूर्ण रूपमा योजनाबद्ध देखिन्छ। मुख्य कारण विवाहेतर सम्बन्ध नै देखिएको छ, तर अन्य पक्षहरू पनि गहिरो रूपमा अनुसन्धान भइरहेको छ ।’ उनले घटनाको सबै पाटोबाट अनुसन्धान भइरहेको र आवश्यक प्रमाण संकलन कार्य जारी रहेको जानकारी दिए । यस घटनाले समाजमा बढ्दो व्यक्तिगत द्वन्द्व र त्यसले निम्त्याउने गम्भीर अपराधप्रति चिन्ता बढाएको छ।

विशेषगरी व्यक्तिगत सम्बन्धका कारण यस्ता जघन्य अपराध हुनु अत्यन्त दुःखद र चिन्ताजनक रहेको स्थानीयवासीहरू बताउँछन् । वीरगञ्ज जस्तो व्यस्त सहरमा भएको यस घटनाले सुरक्षाको सवालमा समेत प्रश्न उठाएको छ। यद्यपि, प्रहरीले घटनामा संलग्न सबैलाई छिटो नियन्त्रणमा लिन सफल भएकोले अनुसन्धान प्रक्रियामा तीव्रता आएको छ ।

कानुनी प्रक्रिया अनुसार, पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान तथा अदालती प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । दोषी प्रमाणित भएमा उनीहरूलाई कडा कानुनी कारबाही हुने निश्चित छ । यस घटनाले व्यक्तिगत सम्बन्धहरूमा पारदर्शीता, संयमता र सामाजिक उत्तरदायित्वको महत्वलाई पुनः उजागर गरेको छ । सामान्य देखिने विवादले पनि चरम रूप लिँदा कस्तो भयावह परिणाम आउन सक्छ भन्ने यो घटनाले स्पष्ट पारेको छ ।

पर्सा प्रहरीले सर्वसाधारणलाई यस्ता संवेदनशील विषयमा कानुनी मार्ग अपनाउन र कुनै पनि प्रकारको हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेको छ । यसका साथै समाजमा शान्ति र सुरक्षाको वातावरण कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको पनि जनाएको छ । यस घटनाको थप अनुसन्धान जारी रहेको छ भने आगामी दिनमा थप तथ्यहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

Comment


Related News

Latest News

Trending News