नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मेलामा भारतीय श्रद्धालुहरूको चहलपहल बढेको छ ।
मेला शुरु हुनुभन्दा दुई दिन अगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको छ । लहान नगरपालिका–१२ र २२ मा अवस्थित सलहेश फूलबारीमा नयाँ वर्षको दिन मात्र फुल्ने विश्वास गरिने माला आकारको सुनाखरी फूल अवलोकन गर्न तथा पूजाअर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु आउने गर्छन् ।
मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीले मन्दिरअगाडि रहेको हारमको रूखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न थालेको जानकारी दिए । तर मंगलबारको मध्यरातदेखि नै फुल फुल्न थाल्नेछ । लोकगाथाअनुसार महिषोथा सिरहामा जन्मिएका लोकनायक राजा सलहेशको प्रेमस्थलका रूपमा यस फूलबारीलाई लिइन्छ । राजा सलहेश र उनको प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा सुनाखरी फूललाई मानिन्छ ।



