२०८३ बैशाख २, बुधबार ०६:३५

भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरिएको छ ।

सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल आयात गरिने सामग्रीमा नेपाल सरकारले भन्सारवापतको कर लगाएको छ । परिष्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने छ । यस अघि सीमानाका क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन ।

यसखालको नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ । २०८२ जेठ १५ मा परिष्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधा अन्तर्गत यस्तो नियम आएको भन्सार विभागले जनाएको छ । यस अघि नै यस्तै प्रकृतिको नियम भए पनि कार्यान्वयन नहुँदा नेपाली उद्योगी/व्यापारी र बजार मर्कामा परेको गुनासो पछि परिष्कृत रुपमा कडाइको व्यवस्था गरिएको छ ।

मधेश प्रदेशको ८ वटै जिल्लासंग जोडिएको सीमावर्ती क्षेत्र अवस्थित सुरक्षानिकायले माइकिंग गरी एकसय रुपैयाँभन्दा बढी मूल्य बराबरको सामग्री नेपाल ल्याइएमा भन्सार वापतको शुल्क अनिवार्य रुपमा बुझाउनुपर्ने भन्दै सर्वसाधारणमा सूचित गरिएको छ । विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भने, ‘नयाँ नियम राजपत्रमा आएसँगै हामीले मातहतका कार्यालयलाई यसबारे जानकारी गरायौं, अहिले कार्यान्वयन सुरु भएको छ,’ उनले भने, ‘नेपाल–भारत सीमामा भारततर्फका बजारमा गरिने किनमेलमा एक सय रुपैयाँ भन्दा धेरै भयो भने त्यो भन्सार घोषणा गरेर मात्रै नेपाल ल्याउन पाइन्छ ।’ यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने मालवस्तु जाँच पास सम्बन्धी संशोधनको ५ नम्बर बुँदामा यस्तो व्यवस्था गरिएको छ । जसमा हवाई यात्रुले ल्याउन पाउने यात्रु सुविधाका वस्तुहरुको कुनै पनि सुविधा स्थलमार्गका सर्वसाधारणलाई छैन । तर भारतीय सेनामा काम गर्ने सैनिक अधिकारी, भारत र चीनमा पढ्न जाने विद्यार्थीलाई भने कम्प्युटर र ल्यापटप ल्याउन भने सुविधा दिइएको छ ।

विभागले जनाए अनुसार नियमानुसार व्यक्तिगत प्रयोजनका लागि एक सय रुपैयाँसम्मका वस्तु ल्याउँदा पनि भन्सारले जाँच परीक्षण गर्नु पर्ने उल्लेख छ । तर विभाग अन्तरगतका मातहत कार्यालयहरुले भने एक सय रुपैयाँसम्मका वस्तुहरु ल्याउन दिने तर सो भन्दा बढीको वस्तुमा भन्सार लाग्ने भन्दै सूचना जारी गरेका छन् । विभागको निर्देशन लगत्तै भन्सार कार्यालयहरुले सूचना जारी गरेर भारतबाट नेपाल आउने यात्रुहरुले ल्याउन पाउने सामानबारे प्रष्ट् याएको छ ।

भन्सार कार्यालयले जनाए अनुसार अब भारतीय बजारमा किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुको अनिवार्य भन्सार घोषणा गर्नुपर्ने छ । दुई देशको सीमामा भारततर्फ किनमेल गर्ने नेपाली प्रवृतिका कारण नेपालमा परेको असर कम गर्न यस्तो नियमन थालिएको छ । भन्सार कार्यालयका एक कर्मचारीले जनाए जनाए अनुसार ‘बिहे, ब्रतबन्ध, दशैं, तिहारको किनमेल गर्न समेत भारतीय बजारमा गर्न पहाड देखिका मानिसहरु आउँछन्, ‘कर लगाएर सामान ल्याउने नेपाली व्यापारीको पसल नचल्ने तर भारतीय बजार गुल्जार हुने प्रवृत्ति रोक्न पनि यो नियममा कडाइ थालिएको छ ।’ स्थानीय तह, जिल्ला प्रशासन र व्यवसायीहरु बीचको छलफल पछि यस्तो व्यवस्था लागु गरिएको छ । भन्सार विभागले पनि कर नलाग्ने बजारमा गएर नेपाली मुद्रामा गरिने कारोबार निरुत्साहित गर्न यस्तो नियम कडाइका साथ कार्यान्वयन थालिएको जनाएको छ ।

अझ अहिले त नेपाली रुपैयाँ बलियो भएको बेला भारतीय बजारमा हुने कारोबारले उल्टै मुलुकलाई असर गरेको विभागले दाबी गरेको छ । पूर्वको ठूलो भन्सार नाका विराटनगरले पनि स्थलमार्गबाट यात्रुले गर्ने कारोबारलाई कडाइ थालेको छ । विराटनगर भन्सार कार्यालय रानीका प्रमुख ज्ञानेन्द्रराज ढकालले भन्सारमा कडाइ गरिएको जानकारी दिए । एक सय रुपैयाँभन्दा बढीको सामग्री ल्याउनेलाई भन्सार वापतको शुल्क भुक्तानी गर्नुपर्ने र यस्तो कारोबारमा संलग्न नहुन माइकिङ गरेर हरेक दिन सम्झाउने काम भइरहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News