प्रधानमन्त्रीको वालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्दैछन्।
आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा औपचारिक संवाद विकास निर्माण र प्रशासनिक उल्झन सुल्झाउन केन्द्रित हुनेछ।
बैठकमा मुख्यगरी देशभर सञ्चालित विकास निर्माणका कार्यलाई कसरी तीव्रता दिने र स्रोत–साधनको न्यायोचित बाँडफाँड कसरी सुनिश्चित गर्ने भन्ने विषयमा घनीभूत छलफल हुने कार्यसूची छ। पछिल्लो समय प्रदेशहरूले भोग्दै आएका प्रशासनिक जटिलता र आर्थिक अभावका समस्या समाधानका लागि प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूको सुझाव लिनेछन्। विशेषगरी केन्द्र र प्रदेशबीचको समन्वय अभावले रोकिएका राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन साझा रणनीति तय गरिनेछ।
देशको वर्तमान आर्थिक अवस्थालाई सुधार्न, पूर्वाधार विकासमा रहेका अवरोध हटाउन र सरकारी सेवा प्रवाहलाई जनमुखी बनाउन बैठकमा साझा समझदारी निर्माण गर्ने प्रयास हुनेछ। सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रधानमन्त्री शाहको मुख्य एजेन्डालाई प्रदेश तहसम्मै कसरी एकीकृत ढंगले लैजाने भन्ने विषयमा पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।



