२०८३ बैशाख ४, शुक्रबार १०:४०

प्रधानमन्त्री बालेन्द्र शाहले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले आमा र मातृभूमिलाई स्वर्गभन्दा पनि महान् भएको उल्लेख गरेका छन्।

संस्कृतको प्रसिद्ध श्लोक “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” उद्धृत गर्दै उनले आमाको काखको न्यानोपन र चरणको पवित्रतालाई तीर्थको रूपमा व्याख्या गरेका छन्।

सन्देशमा प्रधानमन्त्री शाहले आमालाई सृष्टिको मुहान र माया तथा त्यागको अनुपम उदाहरण भन्दै सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गरेका छन्।

प्रधानमन्त्री शाहले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोतको रूपमा चित्रण गरेका छन्। उनले सन्तानको कर्मले आमालाई सदैव गर्व महसुस गराउन सकियोस् र उनीहरूको अनुहारमा सधैँ खुसी छाओस् भन्ने कामना गरेका छन्।

उनले मातृभक्तिलाई राष्ट्रप्रेमको भावसँग जोड्दै भनेका छन्, “हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।”

Comment


Related News

Latest News

Trending News