२०८३ बैशाख ४, शुक्रबार १६:५९

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सामाजिक सञ्जालमार्फत जथाभावी चिकित्सा परामर्श र औषधि सिफारिस गर्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

काउन्सिलले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै बिरामीको प्रत्यक्ष परीक्षण नगरी औषधि सुझाउने तथा बिरामीको गोपनीयता भंग गर्ने कार्य तत्काल रोक्न निर्देशन दिएको हो ।

काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देवद्वारा प्रकाशित सूचनामा टिकटक, इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत बिनापरीक्षण औषधि सिफारिस गर्नु गैरजिम्मेवार र अवैज्ञानिक कार्य भएको उल्लेख गरिएको छ । यस्तो गतिविधिले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने काउन्सिलको भनाइ छ ।

काउन्सिलले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा पेशागत आचारसंहिता पालना गर्न चिकित्सकलाई निर्देशन दिएको छ । बिरामीसँग सम्बन्धित भिडियो वा सामग्री सार्वजनिक गर्दा बिरामीको अनुहार तथा पहिचान गोप्य राख्नुपर्ने काउन्सिलले स्पष्ट पारेको छ ।

त्यस्तै, सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत मापदण्डको पालना गर्नुपर्ने उललेख गरिएको छ ।

काउन्सिलले निर्देशन उल्लंघन गर्ने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिल ऐन तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

Comment


Related News

Latest News

Trending News