२०८३ बैशाख ५, शनिबार ०७:३३

नेपाल–भारत सीमावर्ती क्षेत्रमा पछिल्ला केही समययता नक्कली नोटको कारोबार तीव्र रूपमा बढ्दै गएको छ ।

केही दिन अघि नै रुपन्देही जिल्लामा नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै सर्लाहीमा पनि केही साताअघि नक्कली नोटसहित प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो । यसरी नक्कली नोटसहित पक्राउ पर्न थालेपछि सचेतना अभियानको आवश्यकता अझै पनि रहेको स्थानीय व्यवसायीहरु बताउन थालेका छन् ।

यस अघि नेपाल राष्ट्र बैंकले नक्कली नोटसम्बन्धी गम्भीर चासो व्यक्त गर्दै मधेश प्रदेशको विभिन्न जिल्लामा जाली नोट पहिचान सम्बन्धी सचेतनामूलक अभियान नै सञ्चालन गरेको थियो । नेपाल राष्ट्र बैंक जनकपुर शाखाले केही साता अघि सिरहा, महोत्तरी, पर्सालगायतका जिल्लामा नक्कली नोट पहिचान, वित्तीय ठगी तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराएको थियो ।

नेपाल–भारत सीमावर्ती बजारहरूमा स्थानीय व्यापारी, युवा रोजगारविहीन नागरिक र भारतीय दलालहरू समावेश रहेर चलाएको नक्कली नोटको सञ्जालका कारण सामान्य नागरिकदेखि अर्थतन्त्रसम्म प्रत्यक्ष असर परेको देखिन्छ । पछिल्ला महिनाहरूमा मोरङ, झापा, पर्सा, बारा, रौतहट, सर्लाही, सिरहालगायतका सीमावर्ती जिल्लामा नक्कली नोटसहित नेपाली र भारतीय नागरिकहरू पक्राउ परेका थिए ।

सुरक्षा एजेन्सीले दिएको जानकारी अनुसार अधिकांश पक्राउ परेकाहरू मध्ये कोही कुरियर वा वितरणकर्ता तहमा संलग्न रहेका छन् । तर नक्कली नोटको संजालको मुख्य स्रोत भने अझैसम्म खुलिसकेको छैन । सीमावर्ती बजारमा नक्कली नोटको फैलावटले व्यापारी, उपभोक्ता, बैंक तथा वित्तीय संस्थामा विश्वास र वित्तीय जोखिम बढ्दै गएको छ ।

सुरक्षानिकायको अनुसन्धानले देखाए अनुसार नक्कली नोट मुख्यतया भारतको विहारस्थित मुज्जफरपुरलगायतका केही सहरमा छापिन्छ र त्यसपछि सो नोट लिएर साना समूहमा विभाजित भइ उनीहरु नेपाल ल्याउने गरेका छन् । स्थानीय दलालहरूले बस, ट्रक, मोटरसाइकल प्रयोग गरी ती नक्कली नोट सीमावर्ती क्षेत्रबाट भित्र्याउने गरेका छन् ।

स्थानीय व्यापारी र ठेलावालामार्फत बजारमा वितरण गर्ने गरेको उनीहरुको दाबी छ । ती नक्कली नोट फिर्ता वा साना कारोबारमा मिसाएर वास्तविक नोट साट्ने गरेको पाइएको छ । साना नोटहरू बजारमा फैलिनुले सामान्य नागरिक र व्यापारीलाई आर्थिक र सामाजिक तनाव उत्पन्न भएको देखिन्छ ।

पर्साका एक ठेलावालले नक्कली नोट फेला पारेको ग्राहकसंग विवाद भएको बताउँदै उनले नक्कली नोटबारेमा आमजनमै विश्वासको कमी बजारमै देखिएको अनुभव सुनाए । नेपाल–भारत सीमा क्षेत्रमा नक्कली नेपाली नोटको अवैध कारोबार मात्रै आर्थिक अपराध नभएर सामाजिक र सुरक्षा चुनौती पनि रहेको ठम्याइ छ ।

दुवै देशको सहकार्य, सुरक्षा निगरानी, र नागरिक सचेतना मजबुत बनाउन सकिए सो समस्या नियन्त्रणमा आउन सक्ने अर्थविद्को दाबी छ । नेपाली मुद्रा प्रणालीलाई सुरक्षित र विश्वासयोग्य बनाउन नेपाल राष्ट्र बैंकले नेपाली नोटमा रहेका सक्कली र नक्कली नोट छुट्याउने विभिन्न सुरक्षा चिन्हहरू अंकित गरी जनचेतनामूलक सामग्री सार्वजनिक गरेको छ ।

पछिल्लो समय बजारमा नक्कली नोटको जोखिम बढ्न सक्ने आशंकालाई मध्यनजर गर्दै राष्ट्र बैंकले सर्वसाधारणलाई सजग गराउने उद्देश्यले अभियान नै सञ्चालन गरेको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा नेपाली नोटमा रहेका दृश्य र अदृश्य सुरक्षा विशेषताहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

नोटलाई सामान्य आँखाले हेर्दा, छोएर महसुस गर्दा र पराबैजनी बत्तीको प्रयोग गर्दा देखिने चिन्हहरू नै सक्कली नोटको मुख्य आधार भएको जनाएको छ । केही महिना अघि नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले जाली नोटको कारोबार न्यूनीकरण तथा सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्न फागुन १३ गते सिरहाको सिरहा बजारमा तथा फागुन १४ गते महोत्तरीको जलेश्वरमा जाली नोट पहिचानसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको थियो ।

Comment


Related News