इरानले युद्धविरामको अवधिमा होर्मुज स्ट्रेट पूर्ण रूपमा खोलेको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सबै व्यावसायिक जहाजलाई आवतजावतको अनुमति दिइएको जनाएका छन् । यो निर्णय लेबनानमा युद्धविराम भएपछि लिइएको हो ।
उनका अनुसार, यात्राका क्रममा कुनै जोखिम नहोस् भनेर जहाजलाई एक सुरक्षित मार्गबाट सञ्चालन गरिनेछ, त्यो इरानको पोर्ट्स एन्ड म्यारिटाइम अर्गनाइजेसनले तय गरिसकेको छ ।
अराघचीले यो अवधिमा सामुद्रिक व्यापार प्रभावित नहोस् भन्ने उद्देश्यले जहाजको सुरक्षित आवागमन सुनिश्चित गरिने बताएका छन् । शुक्रबार उनले यो घोषणा गरेका हुन् । इजरायल र लेबनानबीचको १० दिने युद्धविरामको पहिलो पूर्ण दिन इरानले यो निर्णय लिएको हो ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले आक्रमण गरेपछि तेहरानले तेल ढुवानीका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिने यो सामुद्रिक मार्ग बन्द गरेको थियो । अमेरिका र इरानबीचको युद्धविरामको अवधि यही अप्रिल २२ मा सकिँदै छ ।
जहाज ट्रयाकिङ तथ्यांकले हाल त्यहाँ गतिविधि निकै न्यून रहेको देखाएको बीबीसीले जनाएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै इरानलाई धन्यवाद दिएका छन् । उनले होर्मुज स्ट्रेट खोलिए पनि इरानमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहने बताएका छन् । र, यो इरानी जहाजमा मात्र लागु हुने उनले उल्लेख गरेका छन् ।
यसप्रति इरानले चेतावनी दिएको छ कि आफ्ना बन्दरगाहमा नाकाबन्दी जारी रहे त्यसलाई युद्धविरामको उल्लंघन मानिनेछ । र, होर्मुज स्ट्रेट पुनः बन्द गरिनेछ ।



